काठमाडौं ।
प्रधानमन्त्री प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सत्ता सहकार्यका विषयमा छलफल भएको छ ।
एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहित नेपाल निवास कोटेश्वरमा पुगेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले विगतका तित्तता विर्सेर सहकार्य गर्न समाजवादीका अध्यक्ष नेपाललाई प्रस्ताव गरेका छन् । अध्यक्ष नेपाल निवास कोटेश्वरमा भएको छलफल सकारात्मक भएको एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले जानकारी दिए ।
मंगलबार साँझ साढे ६ बजेदेखि सुरू भएको बैठक दुई घन्टा चलेको थियो । ‘प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले सहकार्यको प्रस्ताव गर्नुभयो,’ बैठक बारे जानकारी दिँदै महासचिव भूसालले भने, ‘प्रधानमन्त्रीले लामो पृष्ठभूमि जोड्दै घटनाक्रमबारे बताउनुभयो । हामीले भोलि बस्ने सचिवालय बैठकले निर्णय गर्ने कुरा बतायौं ।’
बैठकमा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल र महासचिव भूसाल पनि थिए । प्रधानमन्त्रीले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादीका उम्मेदवार चम्पादेवी कार्की पराजित भएदेखि नेपाली कांग्रेसको महासमिति बैठकले पैदा गरेको संशयसम्मका घटनाक्रमको पृष्ठभूमि बाँधेको बैठकमा सहभागी अर्का नेताले बताए ।
ुयी सबै घटनाक्रमले संशय पैदा गरेपछि हामी छलफलमा थियौं । बाहिर कुरा चुहिन्छ कि भनेर डर थियो र तपाईंसँग छलफल हुन पाएन । अब सहकार्य गरेर जाऔं । हिजो गल्ती, कमीकमजोरीबारे बसेर समीक्षा गर्दै जाऔंला। अहिले चाहिँ मिलेर अघि बढौं,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी अर्का नेताले बताए ।
बैठकमा एमाले अध्यक्ष ओली लचिलो रूपमा प्रस्तुत भएको र विगतका कमजोरीप्रति समीक्षा गर्न तयार रहेको आफूहरूले बुझेको ती नेताले बताए ।
उनका अनुसार मंगलबारको भेटपछि अध्यक्ष नेपाल पनि निकै सकारात्मक छन् । बुधबार बिहान ११ बजे बस्ने सचिवालय बैठकले गठबन्धनमा सहभागी हुने निर्णय गर्ने सम्भावना बढेको ती नेताले बताए ।