सहकार्यको प्रस्ताव लिएर प्रधानमन्त्री प्रचण्ड र ओली नेपाल निवासमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल निवास कोटेश्वर पुगेका छन् ।

प्रचण्डले कांग्रेससहितको गठबन्धन छाडेर आफूलाई धोका दिएको भन्दै अध्यक्ष नेपाल असन्तुष्ट रहेका बताइएको बेला प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेललाई लिएर नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

सोमबार नेपाली कांग्रेससँगको तत्कालीन गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेलगत्तै नेपालले आफ्ना दुई मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाएका थिए । सोमबार मात्रै बसेको माओवादी सचिवालय बैठकले गठबन्धन तोडिएर रुष्ट बनेका अध्यक्ष नेपाललाई फकाएर नयाँ समीकरणमा मिसाउने निर्णय गरेको थियो ।

सोमबार नै प्रधानमन्त्री दाहाल कोटेश्वर पुगेका थिए । उनले त्यहाँ पुगेर नेपाललाई नयाँ सहयात्रामा जोडिन भनेका आग्रह गरेका थिए । सोमबार नै एमाले अध्यक्ष ओलीले पनि नेपाललाई फोन गरेर स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए। अध्यक्ष नेपाल केही दिनदेखि बिरामी भएर कोटेश्वरमै आराम गरिरहेका छन् ।

एकीकृत समाजवादी स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले अहिले कोटेश्वरमा तीन नेताहरुबीच वार्ता चलिरहेको जानकारी दिए ।

 

  • २२ फाल्गुन २०८०, मंगलवार १९:४० प्रकाशित