काठमाडौँ ।
बदलिएको राजनीतिक परिस्थितिको विश्लेषण गरी पार्टीको धारणा तय गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार अपराह्न ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिएका छन् । बैठकको एजेण्डा भने तय भई नसकेको उनले बताए । ‘एजेण्डा बन्दैछ’ उनले भने ।
यसअघि आज बिहान बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरूको बैठकमा सत्ता गठबन्धन फेरबदलबारे छलफल भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काएको आरोप लगाएका थिए ।
आगामी फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रले दाबी नछोडेपछि सत्ता गठबन्धनमा खटपट सुरु भएको थियो ।