आज राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले शपथ लिने

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सदस्यले आज शपथ लिने भएका छन् ।

पूर्व निर्धारित कार्यक्रम अनुसार गत माघ ११ गते निर्वाचित भएका १९ जना सदस्यको आज पद तथा गोपनीयताको शपथ कार्यक्रम रहेको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

शपथ कार्यक्रम बिहान साढे ११ बजे संसद भवनको लहोत्से हलमा हुनेछ । उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छिन् ।

आइतबार मात्रै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो भने नयाँलाई स्वागत गरिएको थियो ।

रिक्त २० मध्ये १९ जना निर्वाचनबाट चुनिएका छन् भने एक जना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन् ।
१९ सदस्यका लागि भएको निर्वाचनपछि राष्ट्रिय सभामा माओवादी केन्द्र पहिलो दल बनेको छ ।

यी हुन् शपथ लिने सदस्यहरू

रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहरा ।

  • २१ फाल्गुन २०८०, सोमबार १०:०९ प्रकाशित