पोखरा ।
राष्ट्रियसभाका अध्यक्षसहित आज (आइतबार)देखि २० सांसदको पदावधि सकिँदैछ । २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू आज विदा हुन लागेका हुन् । आज विदाई हुनेमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल थापा पार्वती, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई बिदा हुँदैछन् ।
कांग्रेसका चार सांसदहरू रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदै छन् भने माओवादी केन्द्रका तीन सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदा हुँदै छन् ।
नेकपा एसबाट नन्दा चापाई र सिंगबहादुर विश्वकर्मा, जसपाबाट प्रमीलाकुमारी, स्वतन्त्र सांसद खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल पनि बिदा हुँदै छिन् । उनीहरूको ठाउँमा हुने रिक्तता पूर्तिका लागि यसअघि नै माघ ११ मा भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित भइसकेका छन् ।
फागुन २१ गते सोमबार उनीहरूको शपथको कार्यक्रम राखिएको छ भने एकजना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छ । पदाबधी सकिएका सांसदलाई बिदाइका लागि संघीय संसद् सचिवालयले आज साँझ बिदाइ कार्यक्रम । बिदाइ हुने राष्ट्रियसभा सदस्यलाई उनीहरूको कार्यकालमा उनीहरुले संसदमा बोलेका कुराहरूको लिखित पुस्तक समेत प्रदान गरिने धमलाले जानकारी दिए ।