गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन संसद्मा रहेका चार वटै पार्टीका संसदीय दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता खगराज अधिकारी, नेकपा (माओवादी केन्द्र) का नेता हरिबहादुर चुमान र राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले बैठकलाई सम्बोधन गर्ने छन् । यस्तै, विषयगत समितिले पारित गरेका २ विधेयक संशोधनसहित प्रदेश सभामा फिर्ता हुनेछ । आमसञ्चार विधेयक र बिउबिजन सम्बन्धी विधेयक आ–आफ्नै समितिमा दफावार छलफल गरेर सचिवालयमा फिर्ता भैसकेको छ ।

प्रदेश सरकारले संसद् सचिवालयमा दर्ता गरेको प्राइभेट फार्म दर्ता गर्न बनेको ऐनको संशोधन विधेयक पनि संसद्मा ‘टेबुल’ हुने संसद् सचिवालयका उपसचिव प्रेम सुवेदीले जानकारी दिए । उनका अनुसार सरकारले सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक संसद् सचिवालयमा मंगलबार दर्ता गरेको छ ।

सचिवालयमा दर्ता भएको विधेयक ७३ घण्टा पूरा भएपछि मात्रै संसद्मा पेस गर्न पाउने व्यवस्था छ । प्राइभेट फार्म दर्ता सम्बन्धी विधेयक यसअघि नै दर्ता भैसकेको छ । सरकारले हिउँदे अधिवेशनबाट ७ वटा विधेयक संसद्मा पेस गर्ने तयारी गरेको प्रवक्ता सरस्वती अर्यालले बताइन् । नयाँ संसद् बनेपछि प्रदेश सभाबाट एउटा नयाँ विधेयक पास भएको थियो भने केही सालबसाली र संशोधन विधेयक पनि पारित गरिएको छ । हालसम्मको ६ वर्षे अवधिमा ६६ वटा विधेयक संसद्बाट पारित भैसकेको छ ।

  • १६ फाल्गुन २०८०, बुधबार ०७:३६ प्रकाशित