काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य संस्थाहरुले गर्ने परीक्षण र उपचार खर्चमा एकरुपता ल्याउन मापदण्ड बनाउनुपर्ने बताएकी छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले तरकारीदेखि तेलसम्म र नुनदेखि सुनसम्मको मूल्य राज्यले तोकिदिएको भएपनि बिरामीको उपचारजस्तो अति संवेदनशील विषयमा राज्यले कुनै शुल्क नतोकेको बताइन् ।
उनले परीक्षण र उपचारको कुनै शुल्क निर्धारण नहुँदा निजी र सरकारी स्वास्थ्य संस्थाहरुले आफूखुसी शुल्क लिइरहेका भन्दै यसको नियमन हुनुपर्ने बताइन् । उनले स्वास्थ्य उपचार गर्न पनि लुगा र जुत्ता बेचेजस्तो मोलमोलाइ भइरहेको बताइन् ।
एउटै ल्याब परीक्षणमा पाँच गुणा बढीसम्म शुल्क लिइएको प्रमाण आफूले भेटेको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले शुल्क निर्धारण समितिलाई तत्काल सक्रिय बनाएर शुल्क निर्धारण गर्न सरकारसँग माग गरिन् ।













