काठमाडौँ ।
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशको आर्थिक अवस्था उकास्नलाई स्वदेशी उत्पादनलाई स्वदेशमा खपत हुने व्यवस्था गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेपालभित्रका सामग्री उपभोगको राष्ट्रिय नीति बनाउन माग गरे ।
उनले ७० वर्ष पुगेका सालका रुख काट्ने व्यवस्था गर्दा देशले अरबौँ रुपैयाँ आम्दानी गर्ने उल्लेख गरे । सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई कपडा खरिद गर्न वार्षिक पौने ६ अर्ब खर्च हुने गरेको बताउँदै त्यसमा नेपाली अल्लोको कपडा, अल्लोको कोट लगाऊ भनेर नीति मात्रै बनाइदिने हो भने सो रकम बच्ने बताए ।
उनले भने– ‘मदिरा पान गर्दिन भन्ने कोही छैन, हरेक टोल टोलमा विदेशी मदिरा बढेको छ । हाम्रो गाउँमा कोदो हुन्छ, फापर हुन्छ, हाम्रो स्थानीय तहलाई ट्रेडमार्क दिएर कोदाको रक्सी बनाउन दियो भने २ अर्बभन्दा बढी नेपाली पैसा बच्दो रहेछ । जसले किसानले रोजगारी पाउँथे, यो कुरामा हामी किन छैनौँ रु किन यसको बारेमा छलफल हुँदैन ?’
उनले यस्ता विषयमा सबै गम्भीर हुन आवश्यक रहेको बताउँदै आजको दिनमा गाँजा खेती रोक्न आवश्यक नभएको बताए । कानुन बनाएर गाँजाको खेती गर्न दिन आग्रह गर्दै अमेरिकाको न्यूयोर्क सिटीको मेयरले गाँजा खान दिइरहेको बताए । विदेशबाट प्लेनमा पैसा ल्याउन रोक लगाउने नीति पनि ठिक नभएको उल्लेख गरे ।













