पुलमा जहाज ठोक्किँदा पाँचवटा सवारी नदीमा खसे

केन्द्रभाग मिडिया

ग्वानझाओ ।

चीनको दक्षिणी सहर ग्वाझाओमा रहेको पुलमा मालवाहक जहाज ठोक्किँदा एक सार्वजनिक बससहित पाँचवटा सवारी नदीमा खसेका छन् । दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । तीन जना बेपत्ता रहेका छन् ।

समाचार संस्था सीसीटीभीमा प्रकाशित तस्बिरमा पुलको एक हिस्सामा क्षति पुगेको र जहाज त्यहाँ अड्किएको देखिएको छ । जहाजले सामान भने बोकेको देखिएको छैन । घटना स्थानीय समयअनुसार बिहान साढे ५ बजे भएको थियो ।

बेइजिङ न्यूजका अनुसार घटनामा संलग्न जहाजको क्याप्टेनलाई पक्राउ गरिएको छ भने नजिकका क्षेत्र खाली गरिएको छ । पुललाई स्तरोन्नति गर्ने योजना रहे पनि त्यो टर्दै आएको थियो । सन् २०२१ को अक्टोबरमा प्रान्तीय अधिकारीहरूले पुलको भौतिक सुरक्षाका लागि ठक्कर न्यूनीकरण पूर्वाधार निर्माण गर्नुपर्ने बताएका थिए ।

  • १० फाल्गुन २०८०, बिहीबार १३:५९ प्रकाशित