प्रतिनिधिसभा बैठक

प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै एमालेले सरकारको ध्यानाकर्षण गराउने

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गर्ने भएको छ ।

एमालेका सचेतक महेश बर्तौलाका अनुसार संसदमा समय लिएर सरकारको ध्यानाकर्षण गर्न लागेको हो । यसअघि नै एमालेले मन्त्री ज्वालाको राजीनामा मागिसकेको छ ।

माघ ६ गते बसेको बैठकमा एमालेका सचेतक बर्तौलाले ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए । जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन बुझ्न बाँकी रहेको र प्रतिवेदन बुझेपछि आवश्यक निर्णय लिने बताएका थिए ।

तर, अझैसम्म सरकारी छानबिन समितिले दोषी देखाएका व्यक्ति कारबाहीमा नपरेको भन्दै एमालेले पुनः सरकारको ध्यानाकर्षण गर्न लागेको हो ।प्रतिनिधि सभाको बैठक शुरु भएलगत्तै समय लिएर बोल्ने एमालेको तयारी छ । एमालेको तर्फबाट सांसद रघुजी पन्तले सरकारको ध्यानाकर्षण गर्नेछन् ।

गत पुस १३ गते दक्षिण कोरियाको इपीएस परीक्षामा भाग लिन पाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । प्रदर्शनकारीले मन्त्रीको गाडीमा आगो लगाइदिएपछि प्रहरीले गोली चलाउँदा दुई युवा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृृत्यु भएको थियो ।

  • १० फाल्गुन २०८०, बिहीबार १०:५६ प्रकाशित