निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गरौँ : प्रमुख आयुक्त थपलिया

केन्द्रभाग मिडिया

काठमाडौँ ।

‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने मूलनाराका साथ आठौँ निर्वाचन दिवस मनाइको छ । विसं २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन आयोगले आज दिवस मनाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिवसका अवसरमा देश तथा विदेशमा रहका सम्पूर्ण नेपाली मतदातालाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । आम मतदातामा निर्वाचन र मतदानको महत्वलाई मनन गरी निर्वाचनका क्रियाकलापमा सरिक हुन दिवसले सदैव जागरूकता र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गर्न आग्रह गरे।

‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचन स् शान्ति, स्थिरता, समृद्धि र सुशासन’को मूलमन्त्रलाई आत्मसात् गर्दै आयोगले स्थापनाकालदेखि नै निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनीयताको प्रत्याभूतिसहित निर्वाचन व्यवस्थापन गर्दै आएको छ ।

वर्तमान संविधान जारी भएपछि सम्पन्न दुई आवधिक निर्वाचन र विभिन्न समयमा सम्पन्न उपनिर्वाचन एवं राष्ट्रियसभा सदस्यको निर्वाचनबाट देशभर करिब ८३ हजार चार सय जनप्रतिनिधि निर्वाचित भएका आयोगले जनाएको छ ।

  • ७ फाल्गुन २०८०, सोमबार १५:४५ प्रकाशित