सर्त माने टिकटकको प्रतिबन्ध हटाउन सरकार तयार छ : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकले व्यक्त गरेको प्रतिबद्धता कार्यान्वयनको सुनिश्चितता आएमा प्रतिबन्ध हटाउन सरकार तयार रहेको बताएका छन् ।

आज प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रचण्डले टिकटकको प्रतिबन्ध हटाउनका लागि सरकार तयार रहेको बताएका हुन् ।प्रधानमन्त्री दाहाललाई आज प्रतिनिधिसभामा १३ वटा प्रश्न सोधिएको थियो । प्रश्न सोध्नेक्रममा सांसद गणेश पराजुलीले टिकटक प्रतिबन्धबारे प्रश्न सोधेका थिए ।

उनले सरकारले टिकटको प्रयोग रोके पनि सत्तापक्षकै कार्यकर्ताले खुलेआम टिकटकको प्रयोग गरिरहेको समेत बताएका थिए । ‘टिकटक बन्द हुनुअघि र बन्द भएपछि अपराध र विकृति न्यूनीकरण भएको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ,’ सांसद पराजुलीले सोधेका थिए ।

यस्तै, टिकटक बन्द भएपछि कति व्यवसायी पलायन भए भन्दै पराजुलीले अर्को प्रश्न गरेका थिए । पराजुलीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको ‘टकटक’ सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पार्ने माध्यम भएकाले प्रयोगमा रोक लगाएको बताए ।

  • ६ फाल्गुन २०८०, आईतवार १६:३२ प्रकाशित