काठमाडौँ ।
त्रिभुवन विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध आज बिहीबार मुद्दा दर्ता गर्ने तयारी भएको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ७ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले भिजिट भिसा प्रकरणको अभियोजन गर्ने अन्तिम तयारी गरेको छ । बुधबार उक्त प्रकरणको अनुसन्धान भएको ६० दिन पुगेको भएपनि उच्च अदालत पाटन मातहतका अदालतहरुमा शोक विदा दिइएका कारण बिहीबार मुद्दा दर्ता गर्न लागिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौँले भिजिट भिसा प्रकरणमा संलग्न रहेकामध्ये २२ जनालाई प्रतिवादी बनाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेश गरेको छ । सोही प्रतिवेदनका आधारमा सरकारी वकिलले बिहीबार काठमाडौँ जिल्ला अदालतमा लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँले दिएको रायसहितको प्रतिवेदनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत अध्यागमन अधिकृतहरु नरवीर खड्का, कुशल बराल, शैलेन्द्र ढकाल, बिमल पौडेल, बिष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो तथा पहिले अध्यागमन कार्यालयमा कार्यरत रही हाल राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना तथा समन्वय शाखामा कार्यरत शाखा अधिकृत तारा बहादुर कुँवरलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागेको हो ।
सेटिङवापत २ लाख रुपैयाँ बुझिसकेको अवस्थामा अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरिएको भएपनि अन्य अध्यागमन अधिकृतहरु भने सबै फरार नै रहेका छन् । नरवीर खड्काकै पोल बयानका आधारमा अन्य अध्यागमन अधिकृतहरुले समेत भिजिट भिसाको सेटिङ गरी कमिसन लिने गरेको पाइएपछि उनीहरुविरुद्ध समेत मुद्दा दायर भएको हो ।
त्यसबाहेक भिजिट भिसामा सेटिङ गर्ने, नक्कली कागजात तयार पार्ने र आफ्नो नक्कली कागजात तयारी पारी विदेश जान खोज्ने मानिसहरु समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको हो ।












