सूर्यदर्शन सहकारी ठगी : सहकारीको रकमले खुलेका कम्पनीलाई पनि कारबाही गर्न पीडितको माग

केन्द्रभाग मिडिया

पोखरा ।

सूर्यदर्शन सहकारीका पीडितहरूले सहकारीको रकमले खुलेका संस्था र कम्पनीलाई पनि कारबाही गर्न माग गरेका छन् । उनीहरुले कास्की प्रहरीका प्रमुखलाई पत्र बुझाएर गलत मनसायले खुलेर सहकारीको रकम अपचलन गरेका व्यक्ति तथा संस्था पनि कारबाहीको दायरामा आउनुपर्ने माग राखेका हुन् ।

‘प्रतिवेदन अनुसार लगभग २-३ सय व्यक्तिलाई प्रतिवादी बनाएर जानुपर्ने देखिन्छ । गलत प्रक्रियाबाट पैसा लगेर लामो समयसम्म एक पैसा पनि फिर्ता नगरेका, गलत तरिकाले कारोबार गरेका व्यक्ति, सङ्घ संस्थालाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ,’ उनीहरुले भने, ‘तर प्रतिवेदनमा यिनै व्यक्ति तथा सङ्घ संस्थाहरुको कुनै ठेगाना र पारिवारिक विवरण उल्लेख गरिएको छैन ।’

यसअघि विज्ञ टोली खटाएर सहकारीको विस्तृत छानबिन गरिएको थियो । छानबिनमा दोषी देखिएकाहरू विरुद्ध पक्राउ पुर्जी जारी भैसकेको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै सूर्यदर्शन सहकारीको मुख्य कार्यालयमा भदौ २१ गते ताला लगाएको थियो । अहिलेसम्म उक्त ताला खुलेको छैन । सहकारीका १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

‘दोषीहरू १९ जना मात्रै होइनन् । सयौँ व्यक्ति र संस्थाहरू पनि जोडिएका छन् । यस विषयमा प्राप्त प्रतिवेदनबाट जति पनि गलत काममा संलग्न व्यक्ति र सङ्घसंस्था तथा शङ्कास्पद व्यक्तिहरू छन् उनीहरूलाई पनि छानबिन गरिनुपर्छ,’ पीडितहरुको भनाई छ ।

  • १७ माघ २०८०, बुधबार १०:३७ प्रकाशित