तेहरान ।
इरानले सोमबार ४ जनालाई मृत्यु दन्डको सजाय दिएको छ । इजरायलका लागि जासुसी गरेको आरोपमा उक्त सजाय दिइएको भन्दै समाचार एजेन्सी एएफपीले समाचार छापेको छ ।
यी चार जनालाई सन् २०२२ को जुलाईमा इशफहान प्रान्तमा रक्षा मन्त्रालयको केन्द्रमाथि हमला गर्ने षडयन्त्र गरेको आरोपमा पक्राउ गरिएको थियो ।
‘सोमबार बिहान मृत्यु दन्डको सजाय पाउने चार जना जायनिष्ट (इजरायल)को जासुस संगठनसँग आबद्ध थिए । यिनीहरूलाई इशफहानमा आक्रमणको षडयन्त्र गरेको आरोपमा पक्राउ गरिएको थियो,’ इरानी समाचार एजेन्सी मिजानलाई उद्धृत गर्दै एएफपीले लेखेको छ । यिनीहरुलाई जासुस संगठन मोसादले अभियानको एक डेढ वर्ष अघि भर्ती गरेको बताइएको छ ।
यिनीहरूलाई सैन्य प्रशिक्षण दिन अफ्रिकी देशहरुमा पठाइएको मिजानले बताएको छ । अरोपीहरूलाई सन् २०२३ को सेप्टेम्बरमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।