नयाँ वर्ष अगाडि नै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्छौं: प्रमुख आचार्य

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले नयाँ वर्ष सुरु हुनु अगाडि नै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारीमा आफूहरु लागेको बताएका छन् । पोखरा महोत्सवको समापन समारोहलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पोखरा प्रकिृति, संस्कृति र साहसिक पर्यटकका लागि  उत्कृष्ठ गन्तव्य रहेको चर्चा गर्दै उनले यसैलाई सदुपयोग गर्दै पर्यटकीय राजधानी घोषणा गरिने धारणा राखे ।

पर्यटकीय राजधानी घोषणाका लागि प्रदेश सरकार र महानगर एकैठाउँमा रहेको भन्दै उनले संघ सरकारलाई समेत विश्वासमा लिएर घोषणा गरिने उनले बताए । ‘पोखरा नेचर, कल्चर र एड्भाञ्चरको सहर हो । यहाँ पुरानो संस्कृति छ । पुरानो रितिरिवाजहरु छन् । सबै प्रकारका जातजाति र जनजाति मिलेर बसेको सहर हो । यसलाई यहीरुपमा विकास गर्ने हो ।

त्यसका लागि तत्कालिन, अल्पकालिन र दीर्घकालिन योजनाहरु निर्माण गरेर अगाडि बढ्ने हो । हामी यही विक्रम संबत २०८० भित्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारीमा छौं । यसका लागि प्रदेश सरकार हामीसंगै छ । संघीय सरकारको पनि विश्वास जितेर पर्यटकीय राजधानी घोषणा गर्ने हो’ उनले भने ।

प्रमुख आचार्यले विदेशी र स्वदेशी पर्यटकहरु सहरका केही होटलमा बस्ने कुरामात्र मात्र पर्यटन नभएर भाषा, सहित्य,संस्कृतिको संरक्षण, प्रबर्धन र प्रस्तुतिकरणका साथै आदानप्रदानका कुरा पनि पर्यटन रहेको बताए । उनले खेलकुदको माध्यमबाट पनि पोखराको पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा राखे । पोखरामा छुट्टा छुट्टै उद्देश्यका साथ हुने ठूला मेला महोत्सवले हिउँदको बेला रौनक ल्याएको उनले अर्थ्याए ।

युनाइटेड क्लवले गर्ने पोखरा महोत्सव, नयाँ वर्षको अवसरमा होटल संघ पोखराले गर्ने नववर्ष महोत्सव, रेवान पोखराले गर्ने सडक महोत्सव, पोखरा उद्योग वाणिज्य संघले गर्ने औद्योगिक व्यापार मेला र लेखनाथ उद्योग वाणिज्य संघले गर्ने लेखनाथ महोत्सवले यहाँको अर्थतन्त्र चलायमान गराएको उनको धारणा छ । युनाइटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि गरेका कृयाकलाप देशका अरु ठाउँ र अरु क्लवका लागि उदाहरणीय रहेको उनले चर्चा गरे । युनाइटेड क्लवले अगाडि सारेका योजनामा महानगर साथमा रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले युनाइटेड क्लवले सुरु गरेको चिडियाखानाको योजना अहिले प्रदेशको गौरवको योजना बनेको स्मरण गर्दै अबका दिनमा यस्ता मेला महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । त्यसका लागि पोखरा महानगर र वरपरका गाउँपालिकाहरु समेत मिलेर योजना बनाउनुपर्ने उनले धारणा राखे । पोखरा अब घरहरुले भरिएको चर्चा गर्दै उनले आफ्नो पालिकामा स्थानीय उत्पादन बढाउने र पोखरामा हुने यस्ता मेला महोत्सवमा बजारिकण गर्नेकुरामा मिलेर काम गर्न इच्छुक रहेको उनले बताए ।

कास्कीका प्मुख जिल्ला अधिकारी वासुदेव घिमिरेले युनाइटेड युवा क्लवमा आवद्ध युवाहरुको सक्रियता निकै प्रसंशा गर्न लायक रहेको धारणा राखे । एउटा क्लवले यो खालको मेला महोत्सव गर्नु र राज्यका निकायले अगाडि बढाउने योजना अगाडि बढाउनु आफैमा अरुका लागि अनुकरणीय भएको उनको भनाई थियो । उनले जिल्लामा शान्तिसुरक्षा कायम गर्न र पूर्वाधार विकास निर्माणको वातावरण निर्माण गर्न कास्की प्रशासन सधैं तत्पर रहेको पनि उनले बताए ।

 

  • ८ माघ २०८०, सोमबार १८:०८ प्रकाशित