पोखरा।
गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ ।
नगद ११ हजार १११ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहितको पुरस्कार प्रतिष्ठानले आफ्नो छैटौँ वार्षिक साधारण सभाको अवसर पारेर आगामी मङ्सिर १९ गते शनिवार पोखरामा प्रदान गर्ने अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए ।
यसअगि ५ हजार ५५५ रुपियाँ दिइँदै आएकामा यस वर्षदेखि पुरस्कारको राशि ११ हजार १११ रुपियाँ पुर्याइएको अध्यक्ष अधिकारीले जनाए ।
तनहुँको दमौलीमा रहेर करिब ४ दशकदेखि गीत लेखनमा क्रियाशील सागर उदासको पहिलो गीत ‘हिँडेको छु छातीभरि व्यथाहरू बोकी।।।’ बोलमा रेडियो नेपालमा २०५१ सालमा रेकर्ड भएको थियो ।
उनका सागरभित्रका कर्णहरू (२०५२), सागर सुसेली (२०७९) र फैलिन्छ कि माया (२०७९) गरी ३ गीतसङ्ग्रह प्रकाशन भएका छन् भने आभार (२०६०) र रवि (२०७०) गरी २ गीति एल्बम सार्वजनिक भएका छन् ।
उनका जिउँदाको जन्ती…, फुल्यो गुराँस तारे भिरैमा…, घाम पनि माग्छु…, छैन है रहर…लगायत गीत चर्चित छन् । गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनले २ दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन् ।
प्रतिष्ठानका पूर्वअध्यक्ष शीतल गिरीको संयोजकत्वमा यसअगि सम्मानित प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ र सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले सदस्य तथा अध्यक्ष अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै उदासलाई पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो ।
सो पुरस्कारबाट यसअगि गीतकार प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरू’, शीतल कादम्बिनी र आरजु विष्ट ‘सल्यानी’ पुरस्कृत भइसकेका छन् ।













