एसओएस गण्डकीमा ४० औँ वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४० औँ वार्षिक खेलकुद कार्यक्रम शनिवार सम्पन्न भएको छ । बिहीवारदेखि विद्यालयको प्राङ्गणमा सुरु भएको उक्त समारोहलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले समापन गरेका हुन् ।

समापन कार्यक्रममा बोल्दै उनले हाम्रो सामाजिक र राष्ट्रिय आवश्यकतालाई मध्यनजर राख्दै शिक्षणपद्धतिको विकास गर्न नसकिएकाले देशमा बेरोजगारीको सङ्ख्या बढेको र त्यसैका कारण प्रतिभा पलायनको समस्याले तीव्रता पाइरहेको बताए । ‘धेरै अभिभावकविहीन बालबालिकाहरूको संरक्षण, लालनपालन र शिक्षादीक्षाको यथोचित व्यवस्था गर्दै आइरहेको एसओएसजस्तो परोपकारी संस्थालाई सबै पक्ष मिलेर अगाडि बढाउनुपर्छ ।’ सचिव पौडेलले भने, ‘प्रदेशको शिक्षा, स्वास्थ्य, सामाजिकलगायतका धेरै क्षेत्रको जिम्मेवारी वहन गर्दै आइरहेको मन्त्रालय भएका नाताले एसओएस जस्तो मानवतावादी संस्थालाई सहयोग गर्नु हाम्रो पनि जिम्मेवारी हो भन्ने महसुस गरेका छौँ ।’ उनले खेलकुदमा विद्यार्थीहरूद्वारा प्रदर्शन गरिएको प्रतिभाको प्रशंसा गर्र्दै उत्कृष्ट विद्यार्थीहरूलाई बधाई पनि दिए ।

एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यको अध्यक्षतामा सम्पन्न समारोहमा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले स्वागत मन्तव्य राखेका थिए । एसओएसको उद्देश्यमाथि प्रकाश पार्दै प्रधानाध्यापक सुवेदीले अभिभावक गुमाएका र गुमाउने जोखिममा रहेका बालबालिकाहरूको संरक्षण गर्दै आइरहेको विद्यालयले बर्सेनि उत्कृष्ट नतिजा प्राप्त गरी नेपालको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए । सार्वजनिक गुठीअन्तर्गत सञ्चालित एसओएसले कुनै नाफानोक्सानको हिसाब नगरी विशुद्ध सेवामूलक भावना राखेर बालबालिकालाई शिक्षा प्रदान गर्दै आइरहेको र यस कार्यमा गण्डकी प्रदेशबाट निरन्तर सहयोग प्राप्त भएको सुवेदीले जानकारी दिए ।

सभाअध्यक्षको आसनबाट बोल्दै एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यले खेलकुदमा विद्यार्थीहरूले प्रदर्शन गरेको प्रतिभाको प्रशंसासहित खेलकुद समारोहलाई सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद ज्ञापन गरे । समारोहमा पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँ, एसओएस बालग्राम पोखराका परियोजना निर्देशक लोब्स्याङ ग्याल्ट्सेन, विद्यालय निरीक्षक कृष्णप्रसाद भण्डारी, कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम गिरी, सिद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइराला, छोरेपाटनस्थित एसओएस व्यावसायिक तालिम केन्द्रका कार्यवाहक प्रमुख मोहन केसी, एसओएस बालग्राम गण्डकीका उपनिर्देशकद्वय बाबुराम बराल र राजेन्द्र रेग्मी, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकीका एकाइ अध्यक्ष टीकाराम सुवेदी, एसओएस गण्डकीका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, एसओएस बालग्राम गण्डकीकी आमा प्रतिनिधि पार्वती पाण्डे, बालग्रामकी सेवानिवृत्त आमा शारदा पराजुली, एसओएस गण्डकीकी पूर्वशिक्षिका एवम् छात्रवृत्ति कोष स्थापक जया बराल, चिकित्सक डा. वर्षा बराललगायतका अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

वार्षिक खेलकुद कार्यक्रममा माध्यमिक तहका विद्यार्थीहरूका बीचमा विभिन्न दूरीका दौड, रिले दौड, हाइजम्प, लङजम्प, स्याक रेस, सर्ट पुट, टग अफ वारलगायतका अन्तरसदनात्मक खेलहरू सम्पन्न भए भने शिशुकक्षाका विद्यार्थीहरूका बीचमा रिले रेस, बल पिक रेस, स्विट रेस, म्युजिकल चियर, बेलुन ब्रस्ट गेम, ओरेन्ज रेस, स्याक रेसलगायतका खेलहरू आयोजना गरिएका थिए । खेलकुद समारोहमा विद्यालयमा गठित विभिन्न चार सदनमा आबद्ध विद्यार्थीहरूले राष्ट्रिय गीतको धुनमा सुसज्जित विशेष मार्च पास्डका साथै विविध लोकसांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा नेवारी समुदायमा प्रचलित ‘तायमाचा’ नामक लोकसांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो ।

खेलकुद अवधिभरि हुने सम्भावित दुर्घटनाबाट खेलाडीहरूलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले भूतपूर्व विद्यार्थीहरू सम्मिलित चिकित्सकहरूको एक समूहले विद्यालयमै आकस्मिक स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रदान गरेको थियो । समारोहमा अभिभावकहरूका बीचमा म्युजिकल चियर प्रतियोगिता आयोजना गरिएको थियो । त्यस्तै विद्यालयका शिक्षिकाहरूका बीचमा प्रतियोगितात्मक टग अफ वारसमेत आयोजना गरिएको थियो जसमा सहप्राचार्य प्रभास पौडेलको समूहले विजय प्राप्त गर्याे ।

खेलकुदमा कार्यक्रममा विद्यालयको अन्नपूर्ण सदन यस शैक्षिक सत्रको विजेता सदन बन्न सफल भयो भने गौरीशङ्कर सदन उपविजेता बन्यो । त्यस्तै धौलागिरि उत्कृष्ट मार्चपास्ड प्रस्तोता तथा माछापुच्छ«े सर्वाधिक अनुशासित सदन घोषित भए । त्यस्तै कक्षा ११ र १२ तर्फ कक्षा ११ ‘क’ विजेता तथा कक्षा १२ ‘ग’ ले उपविजेताको उपाधि प्राप्त गरे । प्रतियोगितात्मक खेलका विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा प्रमाणपत्र, नगद पुरस्कार तथा पदक प्रदान गरे ।

  • २१ पुष २०८०, शनिबार १७:२२ प्रकाशित