पोखरा ।
२५ औँ सडक महोत्सव आजबाट सुरु हुदैँछ । अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष आयोजना हुने सडक महोत्सव आजबाट सुरु भइ पौष १६ गते सकिनेछ ।
पोखराको लेकसाइडलाई अङ्गग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रर्वद्धन गर्ने उद्देश्यसहित रेष्टुरेण्ट एण्ड बार एशोसियशन रेवान पोखराले ‘सडकमै खाउँ, सडकमै रमाउ’ भन्ने नारासहित सडक महोत्सव आयोजना गर्दै आइरहेको छ ।
सडक महोत्सव लेकसाइड क्षेत्रको ३ कि।मि क्षेत्रमा आयोजना हुने महोत्सवका संयोजक विश्वराज पौडेलले जानकारी दिएको छ । ५ दिनसम्म चल्ने महोत्सव फिस्टेल गेटदेखि गैराको चौतारा हुदैं जरेवर लेकसाइडसम्म हुने संयोजक पौडेलले बताए ।
महोत्सवको रजतजयन्ती भएकाले यसपाली सडक महोत्सवलाई विगतका वर्षहरुमा भन्दा धुमधामसहित विशेष रुपमा सञ्चालन हुनेछ ।
महोत्सवमा मुख्य आर्कषणको रुपमा साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुष प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँकी प्रदर्शन हुने आयोजकले बताएको छ ।
यस्तै महोत्सव अवधिभर रातीको समयमा राष्ट्रिय तथा लोकल ब्यान्डको कन्सर्ट हुनेछ । बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो वुथ महोत्सवको आर्कषणको रुपमा रहने छ ।
यस्तै पोखरा सेरोफेरोको स्थानीय उत्पादीत हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने, वालवालिकाहरुका लागि चित्रकला, मःम, ससेज खाने प्रतियोगिता गरिने भएको छ ।
कुक, वार मेन प्रतियोगिता र पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्ट्री प्रर्दशनका साथै पर्यटकीय गन्त्व्यको प्रर्वद्धन गरिने आयोजकले बताएको छ ।
महोत्सवमा पुस १३ गते लाइभ ब्यान्ड तर्फ दिपक बर्जाचार्य, १४ गते मुक्ति एन्ड रिभाइभल, लक्ष्य ब्यान्ड, १५ गते९न्यु इयरको रात० द एलिमेन्ट्स र लाहुरेले स्टेज तताउने आयोजकले जानकारी दिएको छ ।
यस्तै लोक दोहोरी तर्फ पुस १२ गते प्रजापति पराजुली, १३ गते प्रिती आले, १४ गते पशुपति शर्मा र १५ गते बद्री पंगेनी र पुरुषोत्तम न्यौपानेले आफ्नो प्रस्तुति दिनेछन् ।
अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था
महोत्सव हेर्नको लागि अनलाइनबाट टिकट काट्न सकिने भएको छ ।महोत्सव आयोजनाको २५ औं वर्षको अवसर पारेर पहिलो पटक आयोजकले अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको हो ।
साँस्कृतिक कार्यक्रमका लागि खल्ती एपबाट टिकट काट्न मिल्ने व्यवस्था मिलाइएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । खल्ती एपसँगै विदेशी कार्डहरुबाट पनि आफन्त तथा साथीभाइका लागि टिकट काट्न सकिने अध्यक्ष भट्टराईले बताएका छन् । दर्शकले कार्यक्रम आयोजना हुने स्थानबाट सोझै टिकट काट्दा मूल्य बढी लाग्ने तर अनलाइनबाट टिकट काट्दा केही सस्तो हुने उनको भनाइ छ ।