पोखरा ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र गण्डकीका अनुसार उसको आफ्नै वेभसाइट बाहेक अरु कुनै सामाजिक सञ्जालका पेज वा ग्रुप सञ्चालनमा छैन । तर कार्यालयका नाममा सामाजिक सञ्जालमा बर्गेल्ति फेसबुक पेज र ग्रुप देख्न पाइन्छ । यस्ता ग्रुप र पेज लगायतमा कार्यालयको तर्फबाट भन्दै राखिने सूचना र जानकारीका कारण कार्यालयले हैरानी खेपेको छ ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकीका प्रमुख जीतेन्द्रजंग केसीले समाजिक सञ्जालमा राखिएका यस्ता मिथ्या सूचना र जानकारीले कार्यालयले हैरानी बेहोर्नु परिरहेको जानकारी दिए । उनले कार्यालयको आधिकारीक वेभसाइट बाहेक अरु कुनै प्लेटफम समाजिक सञ्जालमा नरहेको प्रष्ट परेका छन् ।
उनले कुनैपनि भ्रममा नपर्न समेत आग्रह गरेका छन् । ‘हाम्रो कार्यालय (यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकी)का नाममा सामाजिक सञ्जालमा फेक आइडी बनाएर विभिन्न ग्रुप, पेज मार्फत अफवा फैलाउने खालको सूचना र जानकारी भन्दै राखेको पाएका छौं । धेरै सर्वसाधारण यसबाट ठगिएको समेत हुन सक्नुहुन्छ,’ उनले भने, ‘म सबै सेवाग्राहीमा यस्ता ग्रुप र पेज होइन कार्यालयको आधिकारीक साइड हेर्न आग्रह गर्छु ।’
सोमबार विहान उनले स्टाटस समेत लेख्दै यस्तो भ्रममा नपर्न आग्रह गरेका हुन् । उनले अनधिकृत सूचना प्रवाह गर्ने गराउने कार्य नरोकिएमा यस्ता संजालहरु उपर कार्यालय कानूनी उपचारमा समेत जाने उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘केहि समयदेखि गण्डकी लाइसेन्सको नाम प्रयोग गरी विना ट्रायल लाइसेन्स चाहिएमा मेसेज गर्नुहोला भन्ने खालका सूचनाहरु विभिन्न सामाजिक संजालहरुमा देखिएको । कार्यालयको वेभसाइट बाहेक कार्यालयको फेसबुक,ट्वीटर लगायत यस्तो कुनै पनि पेज संचालनमा नरहेकोले यस्ता खालका सूचनाको भ्रममा नपर्न सम्बन्धित सवैमा सवारी चालक अनुमति पत्र कास्की हार्दिक अनुरोध गर्दछ । साथै अनधिकृत सूचना प्रवाह गर्ने गराउने कार्य नरोकिएमा यस्ता संजालहरु उपर कार्यालय कानूनी उपचारमा समेत जाने व्यहोरा सुचित गरिन्छ ।’















