पोखरा ।
यःमरी पुन्ही अर्थात यमरी पूर्णिमाको अवसरमा पोखराको गणेश टोलको सडकमा यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता भएको छ । पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा आज (सोमबार) भएको महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।
उनले महोत्सवको उद्घाटन गर्दै पोखरा ४ नम्बर वडाले प्रस्ताव ल्याए उक्त महोत्सवलाई हरेक वर्ष गर्न महानगर तयार रहेको बताए । उनले सबै जातजाति, भाषा संस्सकृतिको संरक्षण गर्ने पोखरा महानगरको नीति रहेको जानकारी थिए ।
प्रमुख आचार्यले पोखराको उक्त क्षेत्र पोखराको ऐतीहासिक महत्वको क्षेत्र र बजार प्रारम्भ भएको क्षेत्र रहेकाले यसको संरक्षणका लागि महानगरले विशेष योजना बनाएको समेत बताए । भेइकल फ्रि क्षेत्र बनाउँदै उक्त क्षेत्रलाई ऐतीहासिक संपदा क्षेत्रको रुपमा विकास गर्ने उनको भनाई छ । त्यसका लागि काम भइरहेको उनले बताए ।
कार्यक्रममा महानगरका प्रवक्ता मोतिराज तिमिल्सिना, नेवाःखल कास्कीका अध्यक्ष असोक पालिखे, वडा नम्बर २ का अध्यक्ष दिवशमान प्रधानांग, वडा नम्बर ३ का अध्यक्ष प्रकाशमान उदास, वडा नम्बर ५ का अध्यक्ष विष्णु बराल, नेवाःमिसा पुचः कास्कीका अध्यक्ष संगिता बज्राचार्य, कांग्रेस वडा नम्बर ४ का सभापति गोविन्द पराजुली, रामकृष्णटोल नेवाःमिसा पुचः का अध्यक्ष भवानी माकाजु लगायतले उद्घाटनका अवसरमा बोल्दै महोत्सवको बारेमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको सभापतिको आसनबाट बोल्दै पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले आफ्नो वडाले कला र संस्कृतिको संरक्षणका लागि महत्वपूर्ण कार्य गरेको बताए । उनले विकास भनेको भौतिक पूर्वाधार मात्र निर्माण गर्नु नभएर कला र संस्कृतिको संरक्षण पनि रहेको बताए । उनले कला र संस्कृतिको संरक्षण र उक्त स्थानमा रहेको पुरानो बस्तीलाई विकास गर्न विशेष योजनाका साथ अगाडि बढेको जानकारी दिए ।
महोत्सवमा यःमरी बनाउने प्रतियोगितासहित यःमरी बनाएको लाईभ डेमोष्ट्रेसन भएको नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले बताईन् । महोत्सवमा यःमरीको प्रदर्शनी तथा बिक्रीसहित विभिन्न नेवारी परिकारहरुको प्रदर्शनी तथा विक्री गरिएको छ । महोत्सवमा यःमरीसहित नेपाली पिज्जा, बारा, सेलरोटी, समयबजीलगायतका परिकारहरुको स्टल राखिएका छन् ।
महोत्सवमा पोखरेली लक्ष्य ब्याण्डको सांगीतिक प्रस्तुति रहनेछ । मौलिक लाखे नाच, कुमारी नाच लगायत अन्य सांस्कृतिक झाँकीहरुको समेत प्रस्तुत गर्ने कार्यक्रम छ । महोत्सव उद्घाटन अघि झाँकीसहितको ¥याली निकालिएको थियो । पोखरा ४ को कार्यालयबाट सुरु ¥याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोलहुँदै गणेशटोलमा पुगेर उद्घाटन समारोहमा परिणत भएको हो ।
¥यालीमा सहभागिहरु मध्ये प्रथम हुने समूहलाई नगद ७ हजार, द्वितीय हुनेलाई ५ हजार र तृतीय हुनेलाई ३ हजारसहित प्रमाणपत्र प्रदान गरिने कार्यक्रम छ ।
त्यस्तै, यमरी प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोश्रो हुनेलाई ७ हजार, तेश्रो हुनेलाई ५ हजार र सान्त्वना ३ हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ ।