पश्चिममा जाउँ है पोखरा अभियान

नेपालगञ्ज–पोखरा दैनिक हवाइ उडानमा जोड

सीमावर्ती सहरमा पोखरा भ्रमणको निम्ता, पर्यटकका लागि एकीकृत प्याकेज बनाइनुपर्ने

केन्द्रभाग मिडिया

नेपालगञ्ज ।

पोखरा र नेपालगञ्जका पर्यटन व्यवसायीले नेपालगञ्जबाट पोखरामा हवाई उडान थप्नुपर्नेमा जोड दिएका छन् । होटल संघ पोखरा र पर्यटन वोर्ड गण्डकी प्रदेशको आयोजनामा जारी जाउँ है पोखरा अभियान अन्तर्गत नेपालगञ्जमा भएको कार्यक्रममा सहभागी व्यवसायीले यस्तो जोड दिएका हुन् ।

साथै उनीहरुले भारतीय पर्यटकका लागि नेपालगञ्ज हुँदै पोखरा र पोखरा आएका पर्यटकलाई नेपालगञ्जसंग जोड्ने प्याकेजको आवश्यकता औंल्याएका छन् । वर्दिया राष्ट्रिय निकुञ्ज लगायत नेपालगञ्ज वरपरका पर्यटकीय स्थलको बारेमा पोखरामा पनि जानकारी दिने व्यवस्था मिलाउनुपर्नेमा नेपालगञ्जका पर्यटन व्यवसायीले आग्रह गरे ।

नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राईले पर्यटकका लागि झण्झटरहित यात्रा महत्वपूर्ण रहेको बताए । रुपैडिया नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकले झण्झट बेहोर्नु परेको भन्दै आएका गुनासालाई सम्बोधन गर्ने प्रयास भइरहेको उनले बताए । उनले सीमा क्षेत्रमा चेकजाँच भइसकेपछि अन्य स्थलमा अनावश्यक रुपमा चेकजाँचकै नाममा दःुख दिन नहुने धारणा राखे । हाम्रा होटल र पसलहरुमा नेपाली उत्पादन विक्री हुने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भारतका बोर्डर रहेका नेपालका सहरहरुबाट देशका विभन्न ठाउँमा पुग्ने वातावरण सहज बनाउनुपर्नेमा जोड दिए । पर्यटकमैत्री वातावरण सीमावर्ती क्षेत्रमा दिनसके त्यसको सकारात्मक सन्देश सिंगो भारत र अन्य देशमा पनि पुग्ने धारणा राखे । नेपालगञ्ज र पोखरा बीचको उडान थप्नुपर्नेमा समेत उनले जोड दिए ।

पर्यटन वोर्ड पोखराका वरिष्ठ अधिकृत कुन्दन मिश्रले पर्यटन वोर्ड व्यवसायीसंग मिलेर पर्यटन प्रवद्र्धनका लागि लागि परेको बताए । उनले पर्यटन वोर्ड पर्यटन प्रवद्र्धनका लागि नै खोलिएको संस्था भएकाले प्रवद्र्धनका कार्यक्रममा सधंै साथमा रहेको बताए । पर्यटन वोर्ड गण्डकी प्रदेशले सीमावर्ती क्षेत्रमा सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्दा भारतीय पर्यटक भित्र्याउन सहज हुने अपेक्षा समेत गरे ।

होटल व्यवसायीय महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्ले पोखराका पर्यटन व्यवसायीबाट अन्य स्थानका व्यवसायीले समेत सिक्नुपर्ने बताए । अब छिट्टै जाउँ है नेपालगञ्ज अभियान लिएर पोखरा लगायतका विभिन्न सहर पुग्नुपर्ने उनले बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले भारतीय पर्यटकका लागि गण्डकी प्रदेशमा सहज वातावरण बनाउन आफूहरुले पहल गरेको बताए । उनले नेपालगञ्जबाट दैनिकरुपमा पोखरा र पोखराबाट नेपालगञ्ज उडान अनिवार्य रहेकोमा जोड दिए । पोखरामा बाघ हेर्न चाहने पर्यटकका लागि बर्दिया पठाउने गरेको जानकारी दिए ।

उनले नेपालगञ्जलाई क्यासिनोको सहरका रुपमा विकास गर्न समेत सुझाव दिएका छन् । अध्यक्ष श्रेष्ठले सडक महोत्सवदेखि पोखरामा हुने मेला महोत्सवमा समेत सहभागी हुन नेपालगञ्जवासीलाई आग्रह गरे । नेपालगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी ओलीले पोखरा सहर आँफैमा पर्यटकीय सहर रहेकाले बाहिरबाट नेपालगञ्ज आइसकेपछि नेपालगञ्ज रोजाइमा पर्ने गरेको जानकारी दिए । सीमामा कडाई गर्ने तर अन्यत्र दुःख दिन नहुनेमा उनको जोड थियो ।

कार्यक्रममा बोल्दै होटल सघं पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले होटल संघ पोखराले चलाएको जाउँ है पोखरा र चलिए पोखरा लगायतका कार्यक्रमका साथै अन्य पर्यटकीय संघ संस्थाहरुले चलाएका अभियानले अहिले पोखरा पर्यटन चलायमान भएको बताए । उनले अहिले पोखरामा पर्यटकीय स्तरका होटलमा मात्र ४० हजार मानिसलाई एकै पटक राख्ने क्षमता रहेको जानकारी दिए ।

पोखराका होटल क्षेत्रमा ५ खर्वभन्दा धेरै लगानी रहेको र १५ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको बताए । पोखरा आउने पर्यटकले न्यानो आतिथ्यताको महसुस् गर्ने र प्राकृतिक, सांस्कृतिक एवं साहसिक गतिविधि लगायत सबै हिसावले पोखरा घुमाइ र बसाइँ यादगार रहने उनले सुनाए ।

होटल संघ पोखरा र पर्यटन वोर्ड गण्डकीको आयोजनामा शुक्रबारबाट सुरु जाउँ है पोखरा अभियान विभिन्न कार्यक्रसहित नेपालगन्ज, धनगढी हुदैं महेन्द्रनगरसम्म पुगेर पोखरा फर्कनेछ । अभियान टोलीमा पोखराबाट होटलसंघ सहित पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधि र पत्रकार समावेश छन् ।

अभियानमा अन्तर्गत पुग्ने स्थानमा नेपालगञ्जमा जस्तै अन्य क्षेत्रमा पनि पत्रकार सम्मेलनका साथै सरोकारवाला पक्षसँग अन्तरक्रिया गरिने सचिव पार्वती पाण्डेले जानकारी दिइन् ।

  • १ पुष २०८०, आईतवार १२:५२ प्रकाशित