लमजुङमा सामूहिक भोज खाएका १ को ज्यान गयो, १८ बिरामी

केन्द्रभाग मिडिया

पोखरा ।

लमजुङमा सामूहिक भोज खाएकामध्ये १ जनाको ज्यान गएको छ । १८ जना बिरामी भएका छन् । सामुहिक भोजमा खाना खाएका सुन्दरबजार नगरपालिका-९ की देवी परियारको अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ ।

स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको उपलक्षमा राखिएको सामूहिक भोजमा उनीहरू सहभागी भएका थिए । भोजमा ३५ जना सहभागी भएकोमा १८ जनालाई समस्या देखिएको हो । बिरामीलाई सुन्दरबजारको एचडिसिएस नमुना सामुदायिक अस्पतालमा भर्ना गरिएको छ ।

शुक्रवार भोज खाएका उनीहरूलाई शनिबारदेखि समस्या देखिन थालेको लमजुङ प्रहरीले जानकारी दिएको छ ।भोजमा सहभागीहरूले भात, दाल, कुखुराको मासु र मुलाको अचार खाएको बताएका छन् । तर कुन खानामा समस्या आएको भन्ने खुलेको छैन । उनीहरूलाई पखाला र ज्वरो देखिएको अस्पतालले जनाएको छ ।

  • २४ मंसिर २०८०, आईतवार १५:१४ प्रकाशित