देउसी भैली खेल्ने समय बढाउन पोखरेलीको माग

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा देउसीभैली खेल्ने समय बढाउनुपर्ने माग बढेको छ ।

जिल्ला प्रशासन कार्यालयले राती ९ बजेसम्म मात्र देउसी भैली खेल्न समय तोके पछि पोखरेलीले वर्षको एक पटक तिहारको अवसरमा खेलिने देउसी भैलीमा पनि रोकतोक लगाएको भन्दै स्थानीय, पर्यटन व्यवसायी, तथा देउसी भैली खेल्नेहरुले समय बढाउनुपर्ने माग गरेका हुन् ।

पोखराका पर्यटन व्यवसायी गणेश भट्टराईले अन्य विदेशी चाडपर्वको बेला रातभर पनि मनाउन दिने स्थानीय प्रशासनले आफ्नै संस्कृतिलाई भने समयमा रोकतोक लगाउँदै पछि धकेल्ने काम गरेको भन्दै गुनासो गरे ।

भट्टराईले देउसी भैली कार्यक्रम हाम्रो आफ्नो संस्कृति भएकाले यसको संरक्षण र प्रर्वद्धनका लागि प्रशासनले सहयोग गर्नुपर्ने भन्दै समय बढाउनुपर्ने माग गरे ।

उनले भने,‘न्यु इयर, क्रिसमस जस्ता विदेशी पर्वमा लेकसाइड रातभर खुल्छ, तर हाम्रो आफ्नो धार्मिक एवम् साँस्कृतिक चाडपर्वमा भने समय तोकेर अवरोध पुर्याउनु उचित होइन।’ उनले थपे, ‘हाम्रा संस्कृतिलाई पनि प्रोत्साहन गर्नको लागि देउसी भैली खेल्ने समय बढाउनुपर्छ ।’

हिजो लेकसाइडमा देउसी भैली खेल्नेहरुको भिड लागेको थियो तर ९ बजे नै सुरक्षाकर्मीहरु भैली खेल्नेहरुलाई रोक्न पुगे पछि स्थानीय तथा भैली खेल्नेहरु निराश भएका थिए । पर्यटन व्यवसायी र स्थानीयले कम्तिमा राती १२, १ बजेसम्म भैली खेल्न पाउनुपर्ने माग गरेका छन् ।

यता कास्कीका प्रहरी प्रमुख एसपी मोहन कुमार थापाले शान्ति सुरक्षा कायम राख्नका लागि जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशन अनुसार आफुहरुले ९ बजे पछि भैली खेल्न रोक लगाएको बताए ।

  • २९ कार्तिक २०८०, बुधबार ०७:३८ प्रकाशित