सबै न्यायाधीश आज इजलासमा बस्न राजी

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्वोच्चका सबै न्यायाधीशहरु आज इजलास बस्न राजी भएका छन् । लामो समयदेखि असन्तुष्टि बन्दै आन्दोलनमा होमिएका सर्वोच्चका न्यायाधीशहरु आज इजलास बस्न राजी भएका हुन् ।

न्यायाधीशहरुको माग अनुसार शुक्रबारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निवेदन, तामेली र बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै पेसीमा राखेपछि न्यायाधीशहरु इजलासमा बस्न राजी भएका हुन् ।

शुक्रबारका लागि प्रधानन्यायाधीश जबराले २२२ वटा रिट निवेदन पेसीमा राखेका छन् ।जसका लागि ९ वटा संयुक्त इजलास र एउटा एकल इजलासमा पेसी तोकिएको छ ।

शुक्रबारका लागि न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाश मान सिंह राउत, मीरा खड्क र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र हरिप्रसाद फुयाल, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल तथा तेज बहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलास गठन गरिएको छ ।

न्यायाधीश नहकुल सुवेदीका लागि भने एकल इजलास तोकिएको छ । यी सबै पेसीमा तामेलीका लागि दिइएको निवेदन,बन्दी प्रत्यक्षीकरण वा थुनुवासम्बन्धी मुद्दा रहेका छन् ।

  • ३ मंसिर २०७८, शुक्रबार १२:५४ प्रकाशित