जाजरकोट भुकम्प

चीनद्धारा ४० करोडको राहत सामाग्री हस्तान्तरण

केन्द्रभाग मिडिया

पोखरा।

चीनले भूकम्प पीडितका लागि झण्डै ४० करोडको राहत सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका राहत सामाग्री उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

चिनियाँ राजदूत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका झन्डै ३० करोड मूल्य बराबरको राहत सामाग्री उपप्रधानमन्त्री श्रेष्ठले बुझेका छन् । राहत समाग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गरे ।

नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुबै मुलुक एकअर्काको दुखमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

त्यसक्रममा राजदूत सङले पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा समवेदना व्यक्त गरेका छन् ।

दुईवटा एयरक्राफ्टबाट चार हजार ६ सय ब्लाङ्केट र ६ सय टेन्ट आएको छ। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सयवटा महामारी रोक्ने स्पेयर र साढे १० हजारवटा लामखुट्टे मार्ने औषधि छन्।

  • २२ कार्तिक २०८०, बुधबार १४:२४ प्रकाशित