घट्यो डिजेल र मट्टीतेलको मूल्य

केन्द्रभाग मिडिया

पोखरा ।

डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्य घटेर आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुनेछ ।

निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको हो । काठमाडौं, पोखरा, दिपायलमा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

  • १४ कार्तिक २०८०, मंगलवार २०:४५ प्रकाशित