माओवादीले मंसिर २२ गते काठमाडौंमा जनप्रदर्शन गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आइतबार बसेको बैठकले सडक आन्दोलन गर्ने निर्णय गरेको हो ।

अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा पठाइएको ६ बुँदे सर्कुलरमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्ने निर्णय भएको उल्लेख छ ।

सर्कुलरमा भनिएको छ, ‘अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जबस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ ।’

पछिल्लो सयम प्रधानमन्त्री प्रचण्डले आफैं सरकारको नेतृत्व गरेर पनि व्यवस्थामाथि खतरा बढेको भन्दै लाखौं जनता सडकमा उतार्ने बताउँदै आएका थिए । समाजवादी मोर्चाका सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले घोषणा गरेअनुसार नै माओवादीले नै सडक संघर्षको कार्यक्रम तय गरेको हो ।

  • १४ कार्तिक २०८०, मंगलवार १५:०९ प्रकाशित