संयुक्त राष्ट्रसंघका महासचिव गुटरेस लुम्बिनी प्रस्थान

गुटेरेसले भने :'नेपालका हिमाल र हिमनदीलाई जोगाउन विश्वले सहयोग गर्नुपर्छ’

केन्द्रभाग मिडिया

पोखरा ।

हिजो (सोमबार) पोखरा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी प्रस्थान गरेका छन् ।

आज बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत अन्नपूर्ण बेसक्याम्प पुगेर फर्किएसगै गुटेरेस लुम्बिनी प्रस्थान गरेका हुन् । गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यले विमानस्थलमा विदाई गरे ।

लुम्बिनी प्रस्थान गर्नुअघि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले जलवायु परिवर्तन, यसको प्रभाव र असरको बारेमा आफ्नो भनाई राखे । गुटेरेसले जलवायु परिवर्तनले गर्दा बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप बढीरहेको बताउँदै प्रकृतिको विरुद्धमा हुने क्रियाकलाप तथा गतिविधि रोक्न जरुरी रहेको बताए ।

उनले भने, विश्वका धेरै समुदाय जलवायु परिवर्तनका कारण नकारात्मक अवस्थाबाट गुज्रेका छन् । प्रकृतिको विरुद्धमा हुने क्रियाकलापलाई रोक्न जरुरी छ भनेर सन्देश दिनको लागि म नेपाल भ्रमणमा आएको हुँ । नेपालको सौन्दर्यको आर्कषण हिमाल, हिमनदी हुन्। यीनलाई बचाउनको लागि विश्वले नेपाललाई सहयोग गर्नुपर्छ । ताकी नेपाली समुदायले जलवायु परिवर्तनको नकरात्मक असर झेल्न नपरोस ।’

नेपाल भ्रमणमा रहेका गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेर जलवायु परिवर्तनबारे भिडियो सन्देश रेकर्ड गराएका छन् ।गुटेरेसले हिजो (सोमबार)को रात पोखराको फिस्टेल लजमा बिताएका थिए । सोमबार पोखरा आएका उनले फेवातालमा डुंगा सयर गरेका थिए भने पोखरा(२२ पुम्दीभुम्दीस्थित महादेवको विशाल मूर्ति दर्शन गरेका थिए ।

लुम्बिनीमा प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा गुटेरेसले भ्रमण गर्नेछन् । उनले आज साँझ ४ः०० बजे संघीय संसद्को दुवै बैठकलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम छ ।

  • १४ कार्तिक २०८०, मंगलवार ११:१८ प्रकाशित