संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस एबिसीमा

केन्द्रभाग मिडिया

पोखरा ।
आफ्नो चार दिने भ्रमणका क्रममा सोमबार पोखरा आइपुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अहिले अन्नपूर्ण आधार सिबिर (एबिसी) पुगेका छन् । उनी पुरानो पोखरा विमानस्थलबाट नेपाली सेनाको विशेष हेलिकोप्टर मार्फत एबिसी पुगेका हुन् ।

महासचिव गुटेरेस सवार हेलिकोप्टर विहान ७ः०० बजे आधारसिविरमा अवतरण गरेको छ । आधार शिविरमा गुटेरेसलाई अन्नपूर्ण गाउँपालिका प्रमुख विष्णुबहादुर केसीले स्वागत गरेका छन् । त्यसैगरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीयले पनि स्वागत गरेका छन् ।

अन्नपूर्ण बेसक्याम्पमा उनले आधा घण्टा (३० मिनेट) विताउने छन् । सो क्रममा उनले जलवायु परिवर्तन र त्यसका असरका बारेमा स्थानीयसंग प्रत्यक्ष बुझ्ने छन् । महासचिव गुटेरेस अन्नपूर्ण बेस क्याम्पबाट पुनः होटलमा फर्कने र त्यस लगत्तै पुरानो पोखरा विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा सहभागी हुनेछन् ।

गुटरेसलाई पोखरामा सोमबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतले पोखरा विमानस्थलमा भव्य स्वागत गरेका थिए । मुख्यमन्त्री पाण्डेले खादा माला र मेयर आचार्यले गुटेरेसलाई ढाका टोपी लगाइदिए । नेपाली सेनाको हेलिकप्टरमा पोखराको पुरानो विमानस्थलमा ओर्लिएका गुटेरसको स्वागतमा बाहिर विभिन्न सांस्कृतिक झाँकी, पञ्चे बाचासहित नागरिक समाज उपस्थित थिए । उनले पोखरा आएपछि फेवातालमा डुंगा सयर गरेका छ ।

उनले पोखरा २२ मा रहेको पुम्दीकोटबाट पोखराको दृष्यावलोकन समेत गरेका छन् । पोखराका मेयर धनराज आचार्य, सुरक्षा प्रमुखको टोली सहित उनी पुम्दीकोट पुगेका थिए । गुटरेसले पोखराको प्राकृतिक सुन्दरताको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

महासचिव गुटेरेसले पोखरा आउनु अगाडि नै आइतबार काठमाडौंमा राष्ट्रपति रामचन्द्र, पौडेल, प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अधयक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद लगायतसँग भेटघाट गरिसकेका छन् । उनले पाटन दरबार स्क्वायरको समेत अवलोकन गरिसकेका छन् ।

आइतबार राति प्रधानमन्त्री प्रचण्डको आयोजनामा भएको रात्रीभोजमा सहभागी गुटरेस सोमबार पोखरा आउनु अगाडि सोलोखुम्बु पुगेर फर्किका हुन् । महासचिव गुटेरेस आज नै लुम्बिनीतर्फ लाग्नेछन् । लुम्बिनीमा प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा  गुटेरेसले भ्रमण गर्नेछन् । उनले आज साँझ ४ः०० बजे संघीय संसद्को दुवै बैठकलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम छ ।

  • १४ कार्तिक २०८०, मंगलवार ०७:१३ प्रकाशित