संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस पोखरामा

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खादा माला र पोखराका मेयर धनराज आचार्यले ढाका टोपी लगाइदिएर स्वागत

केन्द्रभाग मिडिया

पोखरा ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आफ्नो चार दिने भ्रमणका क्रममा पोखरा आइपुगेका छन् । गुटरेसलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतले पोखरा विमानस्थलमा भव्य स्वागत गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले खादा माला र मेयर आचार्यले गुटेरेसलाई ढाका टोपी लगाइदिए । नेपाली सेनाको हेलिकप्टरमा पोखराको पुरानो विमानस्थलमा ओर्लिएका गुटेरसको स्वागतमा बाहिर विभिन्न सांस्कृतिक झाँकी, पञ्चे बाचासहित नागरिक समाज उपस्थित थिए । गुटेरेस अहिले बास बस्न लेकसाइडको फिस्टेल लजमा पुगेका छन् ।

गुटेरेस भोलि  (मंगलबार) बिहान ६ः३० बजे सेनाकै हेलिकोप्टर मार्फत अन्नपूर्ण आधार शिविर पुग्ने कार्यतालिका छ । आधार शिविरमा गुटेरेसलाई अन्नपूर्ण गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीयले स्वागत गर्ने कार्यक्रम रहेको अन्नपूर्णका अध्यक्ष विष्णु केसीले जानकारी दिए ।

अन्नपूर्ण बेसक्याम्पमा उनले आधा घण्टा (३० मिनेट) विताउने छन् । सो क्रममा उनले जलवायु परिवर्तन र त्यसका असरका बारेमा स्थानीयसंग प्रत्यक्ष बुझ्ने छन् । महासचिव गुटेरेस अन्नपूर्ण बेस क्याम्पबाट पुनः होटलमा फर्कने र त्यस लगत्तै पुरानो पोखरा विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा सहभागी हुनेछन् ।

महासचिव गुटेरेसले पोखरा आउनु अगाडि नै आइतबार काठमाडौंमा राष्ट्रपति रामचन्द्र, पौडेल, प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अधयक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद लगायतसँग भेटघाट गरिसकेका छन् । उनले पाटन दरबार स्क्वायरको समेत अवलोकन गरिसकेका छन् ।

आइतबार राति प्रधानमन्त्री प्रचण्डको आयोजनामा भएको रात्रीभोजमा सहभागी गुटरेस सोमबार पोखरा आउनु अगाडि सोलोखुम्बु पुगेर फर्किका हुन्।

महासचिव गुटेरेसले मंगलबार नै लुम्बिनीतर्फ लाग्नेछन् । उनले सोही दिन साँझ संघीय संसद्को दुवै बैठकलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम छ ।

  • १३ कार्तिक २०८०, सोमबार १५:५९ प्रकाशित