पोखरा ।
नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य तुलबहादुर गुरुङले राजनीतिक दल र तिनका नेताहरुले इच्छाशक्ति राख्ने हो भने देशको विकास हुन धेरै समय नलाग्ने बताएका छन् ।
आइतबार विहान नेकपा एकीकृत समाजवादी कास्कीले दसैं, तिहार, छठ एवं नेपाल सम्बत ११४४को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै पोखरा महानगरका मेयर धनराज आचार्यले आजभोली नकरात्मक कुरा धेरै हुन थालेको चर्चा गर्दै सबैमा सकारात्मक भावना ल्याउन चाडबाडले मद्दत पुग्ने बताए ।
गण्डकी प्रदेशका उद्योग पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपेन्द्र बहादुर थापा, नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य श्रीनाथ बराल, नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल र उपाध्यक्ष पूर्ण लामा लगायतले उक्त अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल, कास्की स्थित विभिन्न दलका प्रमुख एवं प्रतिनिधि, गण्डकी प्रदेश र कास्कीमा उच्च पदस्थ कर्मचारीका साथै नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता र शुभेच्छुकहरुको सहभागिता थियो ।













