संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघ सहयोग गर्न तयार छ : महासचिव गुटेरेस

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विद्यमान कानुन र अदालतको फैसलाअनुसार शान्ति प्रक्रिया टुंग्याउन संयुक्त राष्ट्रसंघको सहयोगी भूमिका रहने बताएका छन् । नेपाल भ्रमणमा आएका महासचिव गुटरेस र प्रधानमन्त्री प्रचण्डबीच भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । नेपालको शान्ति प्रक्रियाप्रति चासो राख्दै महासचिव गुटेरेसले नेपालको विद्यमान कानुन र अदालतको फैसलाअनुसार शान्ति प्रक्रिया टुंग्याउन सहयोगी भूमिका रहने प्रष्ट्याएका हुन् ।

अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको उनले उल्लेख गरे । ‘संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ’ उनले भने, ‘संयुक्त राष्ट्रसंघ नेपाललाई अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्ने प्रक्रियाको विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न तयार छ।’

नेपाल र संयुक्त राष्ट्रसंघबीचको गहिरो मित्रतालाई थप मजबुत बनाउन आफू काठमाडौं आएको पनि उनले बताए । ‘नेपाल शान्ति र बहुपक्षीयताका पक्षमा गौरवशाली रुपमा लामो समयदेखि वकालत गरिरहेको देश हो,’ उनले भने, ‘बहुपक्षीय समाधानका लागि नेपालले गरेको योगदानका लागि संयुक्त राष्ट्रसंघ हार्दिक आभारी छ । शान्ति स्थापनाका लागि विश्वभरका शान्ति मिसनमा नेपालको उपस्थिति त्यसैको नतिजा हो ।’

उनले नेपाल आफ्नो कुनै संलग्नता नै नभएको विश्वव्यापी संकटको आँधीमा पनि फसेको बताउँदै त्यसलाई हल गर्न अन्तर्राष्ट्रिय पहल आवश्यक रहेको बताए । ‘विकसित देशहरूले नेपाल जस्तो राष्ट्रलाई कोभिड–१९ महामारी, मुद्रास्फीति र जलवायु परिवर्तनले निम्त्याएको ठूलो खतरासँग जुध्न मद्दत गर्नुपर्छ,’ उनले भने, ‘यस यात्रामा म जलवायु संकटको भयावह प्रभाव आफैं हेर्न हिमालयको भ्रमण गर्नेछु ।’

उनले भगवान बुद्धको शान्तिको शिक्षा अहिलेको समस्याग्रस्त संसारमा पहिले भन्दा सान्दर्भिक रहेको बताउँदै आफूले लुम्बिनीको पनि भ्रमण गर्न लागेको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले भेटवार्ता सौहाद्रपूर्ण वातावरणमा दुईपक्षीय हितकाबारेमा कुराकानी भएको बताए । ‘नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा छ । यसलाई टुंगोमा पुर्याउन राष्ट्रसंघको भूमिका आवश्यक छ’, प्रचण्डले भने, ‘भेटवार्ता बडो सौहार्दपुर्ण वातावरणमा दुईपक्षीय हित र राष्ट्रिय अन्तराष्ट्रिय महत्वका विषयमा विश्वासका साथ छलफल भयो ।’

उनले क्लाइमेट चेन्जका कारण परेको असरबारे गम्भीर रुपमा छलफल भएको बताए । ‘मौसम परिवर्तनका विषयमा हामीले गम्भीर रुपले चर्चा गर्यौ र नेपालमा मौसम परिवर्तनको नकारात्मक परिणाम छ त्यसलाई कम गर्नका लागि अन्तराष्ट्रिय समुदाय त्यसमा पनि संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँले खेलेको भूमिकाको उच्च प्रसंशा गर्यौ’, प्रचण्डले भने, ‘आउने दिनमा अझ ठुलो सहयोगको अपेक्षा गर्यौ ।’ त्यसैगरी प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटरेसबीच नेपालको शान्ति प्रक्रियाका बारेमा समेत छलफल भएको छ ।

‘नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा छ । त्यसलाई टुंगोमा पुर्याउन पनि अन्तराष्ट्रिय समुदाय र संयुक्त राष्ट्र संघको महासचिवको हैसियतले उहाँको महत्वपूर्ण भूमिका हुने कुरा पनि हामीले गर्यौ’, प्रचण्डको भनाइ छ । साथै भेटवार्तामा आर्थिक विकास र सम्मृद्धिका बारेमा समेत कुराकानी भएको छ । भेटमा नेपाललाई अतिकम विकसित राष्ट्रबाट कम विकसित राष्ट्रमा पुर्याउने लक्ष्य पुरा गर्ने सवालमा समेत छलफल भएको छ ।

 

  • १२ कार्तिक २०८०, आईतवार १६:०५ प्रकाशित