पोखरा ।
गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार २ संक्रमितको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा पोखरा १२ की ६४ वर्षीय संक्रमित पुरुष र तनहुँ घिरिङ गाउँपालिका ५ का ७० वर्षीय वृद्ध रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
पोखराका संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र तनहुँका संक्रमितको संक्रमण तथा सरुवा रोग अस्पताल पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४०५ पुगेको निर्देशनालयले जनाएको छ ।
यस्तै प्रदेशमा २४७ नमुना परीक्षण गर्दा २७ जना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । सोही अवधिमा ६४ जना निको भएका छन् ।
संक्रमित हुनेमा पर्वतमा १, लमजुङका १, तनहुँका ३,कास्कीका १८ र नवलपरासीका ४ जना रहेका छन् । १२ महिला र १५ पुरुष गरि २७ जनामा संक्रमण देखिएको हो ।
योसँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ८७ हजार ७२५ पुगेको छ जसमध्ये ८६ हजार २८ जना निको भएका छन् ।
हाल प्रदेशमा २९२ जना सक्रिय संक्रमित रहेक छन् । जसमध्ये २१६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।