पोखरा।
नेपाली काँग्रेसका युवा नेता सरोज केसीले आसन्न महाधिवेशनमा कास्की क्षेत्र नं.१ को क्षेत्रीय सचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।
पोखरा –२६ सिलिङ्गेस्थित बिपी कुञ्ज स्मृति पार्क पुगेर बुधबार एक कार्यक्रमको आयोजना गरी उनले उम्मेदवारी घोषणा गरेका हुन् । केसी हाल मादी गाउँपालिकाका जनप्रतिनिधि सार्वजनिक लेखा समितिका सभापति एवं प्रदेश १ (ख)को सचिवसमेत हुन् ।
दोस्रो जनआन्दोलन २०६३/०६३ ताका विद्यार्थी आन्दोलनका चर्चित नेता केसीसँग एक सय दिनभन्दा बढ़ी आस्थाको बन्दी जेलजीवन, ५० औं पटक गिरफ्तार र चोटपटकको अनुभव छ ।
पीएन क्याम्पस स्ववियु निर्वाचनमा सभापतिका प्रत्यासी केसी नेविसंघ कास्कीका सचिव, उपसभापति हुदै नेविसंघ केन्द्रीय सदस्य भएर लामो समय विद्यार्थी राजनीतिमा क्रियाशील भएका छन् ।
उनका चुनावी प्रतिबद्धताअन्तर्गत मातहत कार्यालयलाई डिजिटल प्रविधिमैत्री बनाउने, केही फुल टाइम कार्यकर्ता परिचालन गर्ने, नजिकै आएको स्थानीय निकाय निर्वाचनका लागि अहिले नै स्थानीय तहका उम्मेदवार तय गरी निर्वाचन केन्द्रित हुनुपर्ने, मातहतका ३० वटै इकाइमा तत्काल कार्यालय स्थापना गरी मासिक बैठक र गतिविधि गर्न लगाउने, मादी र रूपाका केही क्षेत्र अत्यन्तै दुर्गम भएकाले दुईखाले विकासेनीति अवलम्बन गर्ने, भ्रस्टाचार, ढिलासुस्ती, प्राकृतिक साधनको दुरुपयोगमा आफ्नै सरकार भए पनि खबरदारी गर्ने लगायत रहेका छन् ।