कस्ले निभाउने हो दिउँसोसम्म बल्ने पोखराका सडक बत्ती ?

केन्द्रभाग मिडिया

पोखरा ।

यतिबेला पर्यटकीय सहर पोखराका मुख्य सडक तथा चोकहरु सडक बत्ती र हाइमास्ट बत्तीले झलमल्ल भएका छन् । उज्यालो पोखरा कार्यक्रम अन्तर्गत जोडिएका यस्ता बत्ती रातिको समयमा झलमल्ल देखिएपनि त्यसको सहि सदुपयोग नहुँदा पोखरा महानगरलाई आर्थिक भार थपिने देखिएको छ । शनिबार विहान ८ बजेसम्म पोखराका सडकहरुमा यस्ता बत्ती बलिरहेका देखिए । यद्यपी केही मूख्य चोकहरुमा रहेका हाइमास्ट बत्ती भने निभाएका पाइयो ।

नेपाल विद्युत प्राधिकरणले नै यि वत्ति बाल्ने र सडक बत्ती निभाउने हुँदा चाहेर पनि सबेरै यस्ता बत्ती निभाउन नसकिएको पोखरा महानगरका प्रवक्ता एवं सूचना अधिकारी किरण कोइराला बताउँछन् । प्राधिकरणलाई पटक पटक आग्रह गर्दापनि दिउसोसम्म नै बत्ती ननिभाउँदा यसले पोखरालाई आर्थिक भार समेत थपिने चिन्ता रहेको उनले बताए । प्राधिकरणले अहिले विद्युत प्रशस्त भएकाले यस्ता सडक बत्तीमा दिउँसोसम्म बत्ती बालिदिएर बिल बढी उठाउने मेसो गरेको उनको आरोप छ ।

समयमै बत्ती निभाउनका लागि आफूहरले पटक पटक भनेको तर विद्युत प्राधिकरणले यसको सुनुवाई नगरको उनको गुनासो छ । महानगर प्रमुख धनराज आचार्यलाइ समेत आफूहरुले यस विषयमा ध्यानाकर्षण गराएको र स्वयम प्रमुख आचार्यले नै प्राधिकरणसंग कुरा गर्दा समेत समस्या समाधान नभएको उनले जानकारी दिए । ‘सायद अहिले विद्युत प्रशस्त भएर होला, हामीले कतिपटक भन्यौं आफ्नो कन्ट्रोलमा रहेको बत्ती प्राधिकरणले समयमा निभाउँदैन । यसमा मेयरसाबको पनि हामीले ध्यानाकर्षण गराएका हौं । उहाँले पनि माथि कुरा गर्नुभयो तर, समस्याको समाधान भएन ।

गत १७ भदौको साँझ एक साथ २००७ वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्तीको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पोखरा महानगर प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेसंगै मुख्य सडक तथा चोक झलमल्ल छन् । कुल १४ करोड ६५ लाख रुपैयाँ लगानीमा जोडिएका यस्ता सडक बत्तीको लागत नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरको ५०/५० प्रतिशत बोहोरेका हुन् । राष्ट्रिय सडक बत्ती प्रवर्द्धन परियोजना प्रमुख प्रमोद रिजालका अनुसार सडक बत्तीमा १२० र ९० वाटका बत्ती प्रयोग गरिएका छन् ।

पोखरामा जडान गरिएको बत्ती प्राधिकरणको आइटी सर्भरमा सीधै जोडिने भएकाले कुनै बत्तीले पर्याप्त उज्यालो नदिएमा, बिग्रिएमा तत्कालै सूचना पाउन सकिने बताइएको छ । आवश्यकता अनुसार बत्तीको उज्यालो घटाउन बढाउन सकिन्छ । तर यसको सबै कन्ट्रोल विद्युत प्राधिकरणसंग छ ।

उनले ५ वर्षभित्र बत्तीमा कुनै खराबी आए वा बिग्रिए ठेकेदार कम्पनी टप्सन इनर्जीले नै निशुल्क बनाइदिने सम्झौता भएपनि पोखराको लेकसाइडमा यस्ता सडक बत्ती बल्न छाडेको लामै समय भएको लेकसाइडका अनिल थापाले बताए । उनले यस्ता बत्ती किन मर्मत हुँदैन भन्दै समाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।

 

  • ४ कार्तिक २०८०, शनिबार १०:३८ प्रकाशित