जाँड-रक्सीको विज्ञापन गर्ने सञ्चार माध्यमलाई अब कारबाही !

केन्द्रभाग मिडिया

काठमाडौं ।

जाँड–रक्सीको विज्ञापन गर्ने सञ्चार माध्यम कारबाहीमा पर्ने भएका छन् ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी जाँड–रक्सीलगायत वस्तुको विज्ञापन गर्ने सञ्चार माध्यमहरूलाई कारबाही गरिने बताएका हुन् ।

अध्यक्ष हुमागाईंले सूचना प्रकाशित गरिसकेपछि पनि केही सञ्चारमाध्यममा रक्सीलगायत वस्तुको विज्ञापन प्रकाशन भइरहेको भन्दै विज्ञापन प्रसारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई कानुनअनुसार कारबाही गरिने बताएका हुन।

उनले बोर्ड अहिले विज्ञापन प्रसारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दाताहरूलाई पत्राचार गर्ने तयारीमा रहेको समेत बताए। अध्यक्ष हुमागाईंले ऐनले रक्सी तथा सुर्तीलगायत पदार्थको विज्ञापनमा मात्रै रोक लगाएको बताउँदै बिक्री वितरण र उत्पादनमा रोक नलगाएको बताए।

उनले भने,‘‘जनस्वास्थ्य सेवा ऐन २०७५ मदिरा, सुर्तीजन्य पदार्थहरूको विज्ञापन गर्न रोक लगाएको छ, विज्ञापनको उत्पादन, प्रसारण, वितरण र प्रकाशन गर्न रोक लगाएको छ र हामीले यही कात्तिक २५ गते त्यस्ता पदार्थहरूको विज्ञापन उत्पादन, प्रकाशन तथा प्रसारणको काम नगर्नू/नगराउनू भनेर एउटा विज्ञापन जारी गरेका छौँ र त्यसयता केही पत्रपत्रिकाहरूले विज्ञापन प्रकाशनरप्रसारण गरेका छन्, हामी ती प्रकाशन/प्रसारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई समेत पत्राचार गर्दैछौँ । यदि कुनै व्यक्ति वा संस्थाले विद्यमान कानुनको प्रतिकूल कुनै काम गर्छ भने त्यस्ता व्यक्ति वा संस्थालाई त्यही कानुन बमोजिम कारबाही हुन्छ ’

राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घले पनि सार्वजनिक सञ्चार माध्यम र पत्रपत्रिकामा रक्सीलगायत वस्तुको विज्ञापन प्रकाशन/प्रसारण गरेकोमा विरोध गरेको छ ।

  • १ मंसिर २०७८, बुधबार १४:४१ प्रकाशित