पोखरा । कवि केयरसिंह गुरुङको नवीनतम कविताकृति ठक्करहरूको यात्राशास्त्रको बुधबार पोखरामा विमोचन भएको छ ।
गण्डकी प्रज्ञा(प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले कृति विमोचन गरेका हुन् । उनले कवि केयरसिंहलाई ‘पहरामा फुलेको फूल’ को संज्ञा दिए ।
लमजुङको घाम्राङमा गाउँमा शिक्षणसँगै साहित्य सिर्जनामा लागिरहेका गुरुङले गुरुङ भाषासँगै नेपाली भाषाको साहित्यमा समेत महत्त्वपूर्ण योगदान दिएको भन्दै बिखर्चीले केयरसिंहको यो कृतिमा जीवनका उतारचढावहरूलाई दार्शनिक शैलीमा प्रस्तुत गरिएको बताए । नेपाली कविताका क्षेत्रमा कृतिले विशेष महत्त्व राख्ने उनको भनाइ थियो ।
कृतिको समीक्षा गर्दै गुरुङ साहित्यिक मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले कृतिमा कहिले हँसाउने, कहिले रुवाउने खालका ८१ कविता समेटिएको बताए । बिम्ब र प्रतीकको सुन्दर संयोजन गरिएको कृतिमा नेपाली माटो र संस्कृतिको पहिचान झल्काउने कविताहरू समेटिएको उनले विश्लेषण गरे ।
कवि केयरसिंह गुरुङले जीवन यात्राका क्रममा लागेका ठक्करहरूलाई लिपिबद्ध गरेर कविता लेखेको बताए । उनले कृतिमा आफ्नो व्यक्तिगत ठक्करहरू मात्र नभई समाज र देशका ठक्करहरूलाई समेत समेट्ने प्रयास गरेको भनाइ राखे । लमजुङको क्व्होलासोथार गाउँपालिका-८, घाम्राङका स्थायी बासिन्दा गुरुङ सोही ठाउँमा सूर्योदय माविमा अध्यापनरत छन् । यसअघि नेपाली लोकथा सङ्ग्रह (२०५३), हाम्रा नेपाली लोककथा सङ्ग्रह (२०५६), तमु कविता सङ्ग्रह (२०६२) तमु व्याकरण र अभिव्यक्ति(२०६९), तमु-नेपाली-अङ्ग्रेजी शब्दकोश (२०७४) लगायतका कृति प्रकाशित गरेका उनको यो आठौँ कृति हो । उनले ३ ओटा गुरुङ चलचित्रमा कथा र गीत लेखेका छन् । उनी गण्डकी प्रज्ञा(प्रतिष्ठानका प्राज्ञ सभा सदस्य पनि हुन् ।
ठाडो भाका लोक कला प्रतिष्ठान, नेपालद्वारा आयोजित कार्यक्रम सोही संस्थाका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ को अध्यक्षतामा भएको थियो । संस्थाका संस्थापक महासचिव रुपिन्द्र प्रभावीद्वारा सञ्चालित कार्यक्रममा गण्डकी प्रज्ञा-प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, हिमाली गुरुङ परिवारका अध्यक्ष पर्त घले, तमु धीँ युकेका पूर्व अध्यक्ष डम्बर घले, लमजुङ-पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिजुलीबहादुर गुरुङ, साहित्यकार अमरलेम गुरुङ, गण्डकी प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य गमबहादुर गुरुङलगायतले शुभकामना दिएका थिए । सो अवसरमा ठाडो भाका गायक धम्पु र गायिका सीता दुराले ठाडो भाका गायन प्रस्तुत गरेका थिए ।