पर्वतमा समाजवादी मोर्चा गठन, अध्यक्षमा शर्मा

केन्द्रभाग मिडिया

 

पर्वत ।

समाजवादी मोर्चाले पर्वतमा जिल्ला संयोजन समिति  घोषणा गरेको छ । आइतबार कुश्मामा एक कार्यक्रमको आयोजना गरि नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी पर्वतका अध्यक्ष ठाकुर प्रसाद शर्माको अध्यक्षतामा ८ सदस्य जिल्ला संयोजन समिति घोषणा भएको हो ।

समितिमा नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा र उमाकान्त भुर्तेल, नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण विश्वकर्मा, जनता समाजवादीबाट रोशनी कुँवर र महेन्द्र गुरुङ, नेपाल कम्युनिस्ट पार्टीबाट कृष्ण बिक र विजय सी छन् । जिल्ला संयोजन समितिमा ४ वटा पार्टीबाट २–२ जनाको प्रतिनिधित्व रहेको छ ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज बलावती शर्माले विचार मिल्ने पार्टीहरु एक ढिक्का भएर देश विकासमा लाग्नुपर्ने बताए । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज मोती प्रसाद पौडेलले देशमा सुशासन, समृद्धि र राजनीतिक स्थिरताका लागि समाजवादी मोर्चा आवश्यक रहेको बताए ।

मोर्चा समितिका अध्यक्ष ठाकुर प्रसाद शर्माले केन्द्रीय समितिको निर्देशन अनुसार समाजवादी मोर्चा नेपालमा आबद्ध सवै दलका नेता कार्यकर्ताहरुलाई मोर्चामा गोलबद्द गराउदै जनमुखी कार्यमा जोड दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बैकुण्ठ भुसाल, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण बिक, नेकपा एकीकृत समाजवादी निर्वाचन आयोग केन्द्रीय सदस्य उदय प्रसाद सुवेदी, जनता समाजवादी पार्टीका गण्डकी प्रदेश उपाध्यक्ष तथा पर्वत इन्चार्ज मधुकर न्यौपाने, माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य लिला दवाडी र तारा पराजुली एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य कृष्ण लम्साल र धन कुमारी सुवेदी लगायतको उपस्थिति थियोे ।

नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी पर्वतका अध्यक्ष ठाकुर प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका पर्वत सेक्रेटरी विजय सी को स्वागत मन्तव्य र कार्यक्रमको संचालन माओवादी केन्द्र पर्वतका प्रदेश सदस्य चन्द्रकला शर्माले गरेका थिए । उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी पर्वतले गरेको थियो।

  • २८ आश्विन २०८०, आईतवार २१:५९ प्रकाशित