पोखरा ।
इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान दुई सय ५४ नेपाली नागरिक लिएर स्वदेश फर्किएको छ । उद्धारका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद विमानमा आफैँ इजरायल गाएका थिए । इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली ल्याउनका लागि नेपाल एयरलाइन्सको दुई सय ७४ सिट क्षमता भएको वाइडबडी विमान इजरायल गएको हो ।
परराष्ट्रमन्त्री एनपी साउदले नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत २५४ जना नेपालीलाई स्वदेश ल्याइएको जानकारी दिए । बाँकी अन्य नेपालीहरुलाई स्वदेश ल्याउन पनि आवश्यकताअनुसार इजरायल जहाज पठाउन सकिने मन्त्री साउदले सञ्चारकर्मीलाई बताए ।
उनले मन्त्रिपरिषद्ले नै यसका लागि आवश्यक निर्णय गरिसकेको बताउँदै नियमित र चार्टर उडानमार्फत नेपालीहरुलाई स्वदेश ल्याइने प्रतिबद्धता जनाएका छन् । उनका अनुसार नेपाली दूतावासको अनलाइन प्रणालीमा ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये ५०३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा विहान २५४ जना स्वदेश फर्किएका हुन् ।
शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए । एक जना नेपालीको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले नपाली नागरिकलाई सुरक्षित स्थानमा सर्न र उद्धार हुन आग्रह गर्दै नेपाल फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत सङ्कलन गरिरहेको छ ।
इजरायलमा हाल दुई सय ६५ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको र करिब चार हजार पाँच सय नेपाली अन्य विभिन्न पेसा र क्षेत्रमा कार्यरत रहेको मन्त्रालयको तथ्याङ्क छ । इजरायलमा हाल अध्ययन गरिरहेका दुई सय ६५ जना नेपाली विद्यार्थी इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ गएका हुन् ।
यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट एक सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । यीमध्ये सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ जना नेपाली दक्षिण इजरायलको किबुज अलुमिममा अध्ययनरत थिए ।













