अर्को दुःखद खबर

सिक्किममा १० नेपाली बेपत्ता, खोजी र उद्धारका लागि पहल गर्न सरकारसँग माग

केन्द्रभाग मिडिया

Photo : BBC

विराटनगर ।

सिक्किममा बाढीमा परी १० नेपाली बेपत्ता भएको समाचार आएको छ ।

इजरायलमा १० विद्यार्थीको मृत्यु र त्यहाँ फसेका विद्यार्थीको उद्धारको प्रयास भइरहँदा इलामका १० स्थानीय भारतको सिक्किममा बेपत्ता भएको अर्को दुःखद खबर आएको हो।

इलाम नगरपालिका–९ का १० जनाभन्दा बढी स्थानीय गत असोज १६ देखि सिक्किममा बेपत्ता रहेको खुल्न आएको हो । त्यहाँ काममा रहेका उनीहरुलाई असोज १७ गते टिस्टा नदीमा आएको बाढीले बगाएको हुन सक्ने स्थानीयले जनाएका छन् ।

स्थानीयको अनुसार टिष्टामा आएको बाढीपछि उनीहरु आफन्तसँग सम्पर्कविहीन भएका छन् । बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सेन बहादुर कार्की , लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत र कुमार बस्नेतलगायत १० जना रहेका छन् ।

इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूलाई जानकारीमा आएको भएपनि बस्नेत लगायत अन्यको विषयमा थाहा नभएको बताएका छन् ।

अधिकारी पोखरेलको अनुसार उता सम्पर्क स्थापित भएको छैन । सिक्किमका मिडियामा उनीहरुले खबर गरेको भएतापनि प्रहरीसँग भने सम्पर्क हुने अवस्था नरहेको बताइएको छ । बाढीका कारण त्यस स्थानमा पुग्न नसक्ने, टेलिफोन, विद्युत् सबै अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुन नसकेको पोखरेलले बताएका छन् ।

आफन्त तथा स्थानीयले बेपत्ता व्यक्तिहरुको खोजी र उद्धारका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।

  • २३ आश्विन २०८०, मंगलवार ०९:१९ प्रकाशित