निसीखोला गाउँपालिकाका अध्यक्ष लागुऔषध कारोबारमा दोषी ठहर, साढे तीन वर्ष जेल सजाय

केन्द्रभाग मिडिया

बागलुङ ।

बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा दोषी ठहर गरेको जिल्ला अदालतको फैसला उच्च अदालतले सदर गरेको छ । लागुऔषध कारोबारमा दोषी ठहर गर्दै साढे तीन वर्ष जेल सजाय सुनाउने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई नै सदर गरेको हो ।

न्यायाधीशहरू मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले सदर गरेको हो । जिल्ला अदालतले घर्तीलाई गत पुस ३ गते ५० हजार रुपैयाँ जरिवानासहित साढे ३ वर्ष जेल सजाय तोकेको थियो । २०७७ असार १२ गते गाँजासहित पक्राउ घर्ती परेका थिए ।

बागलुङको बुर्तिबाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्दै जाँदा घर्तीलाई पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा र चरेस नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो ।

पक्राउ परेलगत्तै झण्डै तीन महिना पुर्पक्ष बसेपछि उनी धरौटीमा रिहा भएका थिए । त्यसयता उनी बाहिरै बसेर मुद्दा लडिरहेका छन् । फैसला प्राप्त भएपछि कार्यान्वयनतर्फ लाग्ने जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

  • २२ आश्विन २०८०, सोमबार १५:४६ प्रकाशित