उपप्रधानमन्त्री खड्का र बेलायतका राजदूत फेनबीच भेट

केन्द्रभाग मिडिया

काठमाडौं ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् ।

बिहीबार रक्षा मन्त्रालयमा भएको उक्त भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ ।

उपप्रधानमन्त्री खड्काले राजदूतलाई स्वागत गदै बेलायत र नेपालबीच सरकारी स्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ठ र सौहार्द्रपूर्ण सम्बन्ध रहेको चर्चा गरेको मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।

मन्त्री खड्काले उनको नेपाल बसाईको क्रममा दुई देशबीचको सम्बन्धलाई थप फराकिलो बनाउँदै नयाँ उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले सेवा निवृत्त ब्रिटिस गोर्खा सैनिकलाई समान पेन्सन लगायतका सुविधाहरू उपलब्ध गराउने सम्बन्धमा संयुक्त अधिराज्य सरकारबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गरे । भेटवार्ताका क्रममा जलवायु परिवर्तन, दुई देशका सेनाबीच सहयोग आदान–प्रदान लगायतका विषयमा समेत छलफल भएको थियो ।

 

यसैगरी, राजदूत फेनले दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको र यसबीचमा दुई देशको सम्बन्धले नयाँ उचाइ लिएको विचार व्यक्त गरे। नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वशान्ति स्थापना कार्यमा पु¥याएको योगदान विशिष्ट रहेको कुरा उल्लेख गदैँ उनले नेपालको आर्थिक, सामाजिक र मानवीय विकासमा सहयोग गर्न संयुक्त अधिराज्य सरकार सदैव तत्पर रहेको विचार व्यक्त गरे। उनले आफ्नो कार्यकालको दौरान नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय सम्बन्धलाई थप फलदायी र उपलब्धिमूलक बनाउन निरन्तर प्रयास गर्ने कुरा राखे ।

शिष्टाचार भेटका अवसरमा रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

  • १८ आश्विन २०८०, बिहीबार १८:०५ प्रकाशित