भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

केन्द्रभाग मिडिया

पोखरा ।

चीनको होङझाउमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । भारतले नेपाल लाई ४ विकेटको क्षतिमा २०२ रन बनाएको हो ।

उसका यशस्वी जैसवाल शतक बनाएर आउट भए ।  रिङ्कु सिंह ३७ र शिभम् दुवे २५ रनमा अविजित रहे । भारतका कप्तान ऋतुराज गायकवाड २५ रनमा आउट भए । तिलक बर्मा २ रनमा र जितेश शर्मा पाँच रनमा आउट भए । नेपालका दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । करण केसी प्लेइङ ११ मा फर्किँदा विनोद भण्डारी बेन्चमा छन् ।

नेपाल समूह ‘ए’ मा मङ्गोलियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा पुगेको हो भने भारतले सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

मङ्गोलियासँगको खेलमा नेपालले विभिन्न विश्व कीर्तिमान बनाएको थियो । कुशल मल्लले ३४ बलमै शतक र दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक बनाएर कीर्तिमान कायम गरेका थिए । भारतले एकदिवसीय विश्वकपको कारण एसियाली खेलकुदमा दोस्रो टोली पठाएको छ । तर भारतीय टोलीमा आईपीएलमा राम्रो प्रदर्शन गर्दै आएका खेलाडी छन् ।

चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी क्वार्टरफाइनलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।

  • १६ आश्विन २०८०, मंगलवार ०८:२९ प्रकाशित