अझै १० वर्ष केपी ओलीको विकल्प छैन : उपमहासचिव गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमालेमा अझै १० वर्ष अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन् । एमालेमा भावी नेतृत्वका लागि पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले तयारी गरिरहेको बताइएका बेला उनले यस्तो बताएका हुन् ।

उपमहासचिव गुरुले सोमबार एमाले गण्डकीको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै विगतमा पार्टीमा बहुकेन्द्र हुँदा समस्या रहेको धारणा राखे । उनले पार्टीमा अहिले एउटै केन्द्रिकृत नेतृत्व रहेको र अझै १० वर्ष ओलीको विकल्प नरहेको उल्लेख गरेका हुन् । एउटै नेतृत्व हुँदा देशभर ७५३ वटै पालिकामा एकैपटक अधिवेशन गर्न सम्भव भएको उनले उदाहरण पेश गरे ।

पार्टीमा माधव नेपाल भएको भए त्यो सम्भव नरहेको उनले विश्लेषण सुनाए । उनले फेरीपनि अध्यक्ष ओलीकै नेतृत्वमा सरकार बनाउनुपर्ने र राष्ट्रिय स्वाधिनताको झण्डालाई फहराउनुपर्ने बताए । ‘म यहीँबाट घोषणा गर्छु । यो पार्टीका अझै १० वर्ष केपी ओलीको नेतृत्वको विकल्प छैन । पार्टीमा अहिले एउटै केन्द्र छ । जसका कारणले एमालेले देशभर ७५३ वटै पालिकामा एकै पटक अधिवेशन गर्न सफल भयो । पार्टीमा एकीकृत र केन्द्रिकृत नेता हुँदाको परिणाम हो यो’ उनले भने ।

जन्मेको बच्चा फेरी गर्भमा नफर्के जस्तै नेपालमा राजतन्त्र फर्कन सक्दैन 

उपमहासचिव गुरुङले जन्मेको बच्चा आमाको गर्भमा पुन फर्कन सम्भव नरहेजस्तै नेपालमा अब राजतन्त्र र एकात्मका व्यवस्था फर्कन सम्भव नरहेको धारणा राखे । ‘राजतन्त्र र सामन्तको गर्भबाट संघीय लोकतान्त्रिक गणतन्त्र जन्मेको हो । आमाबाट जन्मेको बच्चा जसरी फेरी गर्भमा फर्कन सक्दैन, त्यसरी नै अब रातन्त्र र एकात्मक राज्य तर्फ देश फर्कन सक्दैन ’ उनले भने ।

उनले फण्डा गर्नेहरुको पछि नलाग्न पनि अग्रह गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई उनले कुनै नीति योजना र भिजन विनाको पार्टी भनेका छन् । लोकप्रियतावादले विकास र समृद्धि नदिने भन्दै उनले भिजन, मिसन र नीति बिना जनतालाई दिग्भर्मित पार्ने काम रास्वपाले गरिरहेको धारणा राखे ।

उनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेसको पछि लागेर कम्युनिष्ट आन्दोलनको बदनाम गरेको समेत टिप्पणी गरेका छन् ।

  • १५ आश्विन २०८०, सोमबार १७:३५ प्रकाशित