आज हरिबोधिनी एकादशीः घरघरमा तुलसीको पुजाआजा

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज हरिबोधिनी एकादशी । घरघरमा रोपिएको तुलसीको पुजाआजा गरिदैँछ ।

कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढीपहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

यसैबीच यता पोखराको सेती नदीमा पोखरेलीले आज भजन किर्तनसहित तोरन तार्ने गर्छन । आजको दिन सेती नदीमा फूल तार्न ठूलो संख्यामा भक्तजन ढोलीमा फूल, प्रसाद लिएर सेतीमा पूग्ने गर्छन् ।

  • २९ कार्तिक २०७८, सोमबार ०९:१८ प्रकाशित