राष्ट्रिपति, प्रधानमन्त्री र दलका नेताहरुद्वारा स्वर्गीय नेम्वाङप्रति श्रद्धाञ्जली

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका पूर्वअध्ययक्ष सुवास नेम्वाङको निधन प्रति राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु र विभिन्न दलका शीर्ष नेताहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । उनले शोकाकुल परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टी एमालेप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

राष्ट्रपतिको आधिकारिक सामाजिक सञ्जाल एक्समा लेखिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएकोछ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको बताएका छन् । प्रचण्डले सामाजिक सञ्जालमार्फत दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्रीले लेखेका छन्, ‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सभापति देउवाले नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।

‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम नेम्वाङको निधनले स्तब्ध र मर्माहत भएको बताएका छन् । भट्टराईले ट्विटमार्फत संविधानसभा अध्यक्ष नेम्वाङको निधनले देशले ठुलो क्षति व्यहोरेको बताएका हुन् ।

 

 

 

  • २६ भाद्र २०८०, मंगलवार ०८:२६ प्रकाशित