पार्टीलाई विजोग अवस्थामा छाडेर राष्ट्रपति बन्न नचाहेको हुँ : माधव नेपाल

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई बिजोग बनाएर आफू राष्ट्रपति बन्न नचाहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले शनिबार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा बोल्दै यस्तो बताएका हुन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई राष्ट्रपतिमा प्रस्ताव नगरेको पनि दाबी गरे । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने सबै बैठकमा आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको उनले उल्लेख गरेका छन् । उनले नेकपा ब्युँत्याउन भनेर आफूले पठाएको प्रस्तावलाई समेत ओलीले लत्याएको पनि दोहोर्‍याएका छन्।

उनले एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीलाई सबैतिर निषेध गर्ने गरेको सुनाए । सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको उनको आरोप छ। उनले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको टिप्पणी गरे।

संसदमा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी सो बैठकमा सहभागी भए पनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा आफ्नो पार्टीलाई सहभागी नगराएको अध्यक्ष नेपालको जिकिर थियो । ‘ओलीले यो पार्टीको मतलब नै नराख्ने । हुँदाहुँदा हिजोअस्ति त संसदमा अरु सबै पार्टी हुन्छ । तर, एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन् । र, त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरु सबै बसे ६ वटा पार्टी । राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन् । अब हामी पनि सोचिरहेका छौं कि हामीले पनि केही गर्नुपर्छ,’ अध्यक्ष नेपालले भने ।

 

  • ९ भाद्र २०८०, शनिबार १५:१० प्रकाशित