काठमाडौं।
लेबनानले वैदेशिक रोजगारीको लागि नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ । लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग भेट गर्दै लेबनानमा विभिन्न क्षेत्रमा रोजगारीका लागि केही नेपालीलाई लैजान सकिने प्रस्ताव गरेका हुन् ।
लेबनानको प्रस्तावमा मन्त्री भण्डारीले श्रम समझदारीको लागि ड्राफ्ट बनाएर आदानप्रदान गर्ने र सोही आधारमा अगाडि बढ्ने बताएको मन्त्रालयले जनाएको छ ।
श्रम समझदारीको ड्राफ्ट तयार पारेर सोही आधारमा अगाडि बढ्न मन्त्रालय तयार देखिएको छ । लेबनानमा हाल १ हजार २०० नेपाली रहेका छन् । मन्त्रालयका सहसचिव राजीव पोखरेलका अनुसार लेबनानले विशेष गरी घरेलु र निर्माण क्षेत्रका लागि कामदार लैजाने प्रस्ताव गरेको हो ।