पोखरा ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्त्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
धेरै भारी वर्षा हुने क्षेत्रमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।